धरान (सुनसरी) । राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करण आगामी माघमा हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी माघ १९ गतेदेखि २६ गतेसम्म प्रतियोगिता आयोजना हुने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।
धरान उपमहानगरपालिका-१६, रङ्गशालामा हुने प्रतियोगितामा १० वटा क्लबको सहभागिता रहनेछ । प्रतियोगितामा एनआरटी क्लब काठमाडाैँ, लिग च्याम्पियन चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, भुटान फुटबल एकेडेमी, त्रिभुवन आर्मी क्लब, इटहरी जागृति क्लब, यूके एफसी भारत, मच्छिन्द्र क्लब काठमाडौँ, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा र धरान फुटबल क्लब सहभागी हुनेछन् ।
प्रतियोगिताको विजेताले ट्रफीसहित १० लाख रूपैयाँ र उपविजेताले पाँच लाख रूपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीले नगद एक लाख रूपैयाँ, प्रत्येक खेलको प्लेयर अप दि म्याचले १५ हजार रूपैयाँ, सर्वाधिक गोलकर्ताले ३५ हजार रूपैयाँ, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार रूपैयाँ पुरस्कार पाउने अध्यक्ष तामाङले बताए ।
प्रतियोगिता सञ्चालनका लागि ८० लाख १० हजार रूपैयाँ खर्च हुने अनुमान गरिएको छ भने एक करोड दुई लाख २५ हजार रूपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको क्लबका महासचिव नवीन राईले बताए । प्रतियोगितामा उपविजेताले पाउने पाँच लाख रूपैयाँ धरान उपमहानगरपालिका-१५ निवासी हाल पोर्चुगलमा रहेका अरूण राईले प्रदान गर्ने भएका छन् ।
प्रतियोगिताको गत वर्षको संस्करणमा एनआरटी क्लब काठमाडाैँ विजेता र जिल्ला फुटबल सङ्घ मोरङ उपविजेता भएका थिए ।
FACEBOOK COMMENTS