काठमाडाैँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरू पुस २७ गतेको राष्ट्रिय भेलामार्फत सडक आन्दोलनमा जाने बताएका छन्।
मंगलवार ललितपुरमा पूर्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले यस्तो बताएका हुन्। उनले वर्तमान परिवेशमा निर्माण क्षेत्र सकसमा रहँदा पनि राज्यले निर्माण व्यवसायीहरूका समस्या समाधान नगरेकाले सडक आन्दोलनमा जान बाध्य भएको बताए।
उनले पुस २७ गते निर्माण व्यवसायीहरूको राष्ट्रिय भेला गरी सरकारलाई खबरदारी गर्ने योजना रहेको बताए। उनले भेलामा ७७ जिल्ला र प्रदेशका प्रतिनिधिहरू रहने बताए। उनले भेलाको विषयमा सरकारका सबै निकायलाई जानकारी दिएको बताए।
सिंहले भने, ‘वर्तमान परिवेशमा निर्माण क्षेत्र अत्यन्तै सकसमा छ। पौष २७ गते निर्माण व्यवसायीहरूको राष्ट्रिय भेला गरी सरकारलाई खबरदारी गर्नेछौँ। यो भेला निर्माण क्षेत्रको समस्या समाधानका लागि आन्दोलनको रूपमा लैजान पनि सकिन्छ। ७७ जिल्ला र प्रदेशका प्रतिनिधिसहित भेला हुनेछ। आन्दोलित भएर सडकमा जानुपर्ने अवस्था आएको छ। सरकारका सबै निकायलाई जानकारी दिएका छौँ।’
उनले सकसमा रहेको निर्माण क्षेत्र सिमेन्ट उद्योगीहरूले उत्पादन कटौती गरेर मूल्यमा गरेको कालोबजारीले थप मारमा परेको बताए। उनले सिमेन्ट उद्योगीहरूले सिमेन्टको मूल्य ५ सयबाट ७७० रुपैयाँसम्म पुर्याएको बताए।
FACEBOOK COMMENTS