काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको विभिन्न पदमा कार्यरत रही उत्कृष्ट कार्य गरिरहेका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी हुँदै छन् । प्रशिक्षण छिमेकी मुलुक भारतको मुम्बईस्थित भारतीय बीमा संस्थान (आईआईआई) मा माघ ७ गते देखि ९ गते सम्म सञ्चालन हुँदैछ ।
भारतीय बीमा संस्थान बीमा शिक्षा र तालिममा समर्पित भारतको एक प्रमुख राष्ट्रिय संस्था हो । यस संस्थानले व्यावसायिक प्रमाणपत्रहरू प्रदान गर्ने र विभिन्न परीक्षाहरू सञ्चालन गर्दछ । यसले भारत र भारतबाहिरका बीमा क्षेत्रमा आबद्ध व्यक्तिहरूको सीप र ज्ञान बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
यस तीनदिने कार्यक्रममा बीमामा आबद्ध कर्मचारीहरूका लागि अपरिहार्य व्यावहारिक ज्ञान तथा सीप वृत्तिविकास गर्ने खालका प्रशिक्षण सामग्रीहरू समावेश गरिएका छन्, जसअन्तर्गत बजार प्रवर्द्धन तथा बिक्री, वितरण माध्यम व्यवस्थापन, सञ्चार कौशलता, व्यावहारिक अन्तर्क्रिया र परामर्शका विषयहरू रहेका छन् ।
सहभागीहरू प्रस्थान गर्नुअगाडि बिदाइ कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले प्रशिक्षणका लागि छनोट हुन सफल कर्मचारीहरूलाई बधाई दिए ।
उनले यस प्रकारका अन्तर्राष्ट्रिय तालिमले कर्मचारीहरूको वृत्तिविकासमा उल्लेखनीय योगदान पुर्याउने हुँदा कार्यक्रममा सिकाइएका ज्ञानलाई उचित ढङ्गले ग्रहण गर्दै यसलाई व्यक्तिगत र कम्पनीको व्यवसाय विकासमा उपयोग गर्नुपर्ने बताए । साथै आफूले सिकेका ज्ञानबर्द्धक कुराहरू अन्य कर्मचारीहरूसँग साटासाट गर्न निर्देश दिए ।
प्रशिक्षणमा सहभागी हुन कम्पनीका शाखा प्रबन्धक, एरिया म्यानेजर, क्षेत्रीय प्रबन्धक र प्रदेश प्रमुखहरू सहभागी भएका छन् ।
FACEBOOK COMMENTS