काठमाडौं । सरकारले इन्जिनियर सन्तोष पाण्डेलाई लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त गरेको छ ।
संरचनागत इन्जिनियरिङ क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएका पाण्डेले काठमाडौं, तिलोत्तमा र बुटवलका स्थानीय तहमा संरचनागत इन्जिनियरका रूपमा काम गरेका छन् । उनले भवनको संरचनागत सुरक्षा, नक्सा परीक्षण, भवन संहिता कार्यान्वयन तथा सार्वजनिक पूर्वाधारको प्राविधिक मूल्याङ्कनमा काम गरेको अनुभव छ ।
पाण्डेले सन् २०११ मा सिभिल इन्जिनियरिङमा स्नातक र सन् २०१६ मा भारतबाट संरचनागत इन्जिनियरिङमा स्नातकोत्तर गरेका हुन् । उनले नेपाल राष्ट्रिय भवन संहिताको समीक्षा प्रक्रियामा समेत योगदान दिएका छन् ।
उनको नियुक्तिसँगै लुम्बिनी क्षेत्रको पूर्वाधार विकास, निर्माण आयोजनाको गुणस्तर अनुगमन, संरचनाको संरक्षण तथा प्राविधिक व्यवस्थापनमा इन्जिनियरिङ अनुभव उपयोग हुने अपेक्षा गरिएको छ ।
