काठमाडाैँ । महानगर यातायात प्रालिले सेवा विस्तार गर्दै बिहीबारबाट थप ४० वटा बस सञ्चालनमा ल्याएको छ। काठमाडौंको चन्द्रागिरीदेखि धुलिखेलसम्मको यात्राका लागि उक्त बस संचालनमा ल्याएको हो । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी टाटाका थप ४० वटा बसहरु सञ्चालनमा ल्याइएको प्रालिका उपाध्यक्षसन्तोष खतिवडाले जानकारी दिए। उनका अनुसार नयाँ बस थपिएसँगै महानगरको बस ८९ पुगेको छ।
यस अघि धुलिखेलसम्म पुग्ने मयुर यातायातको एकाधिकारलाई रोक्दै महानगरले उक्त क्षेत्रमा बस संचालनमा ल्याएको हो । ४० वटा बस संचालनका लागि २० करोड रुपैयाँको लगानी गरेको छ । नयाँ बस थपिएसँगै महानगर यातायातको बस संख्या ८९ पुगेको छ। २०७२ सालमा काठमाडौंको चक्रपथमा एकै पटक गुड्ने गरी ३९ वटा ठूला सिटी बस सञ्चालनमा ल्याएको थियो। कम्पनीले सुरूआतमा १७ करोड लगानी भएको थियो ।
कम्पनीले आगामी दुई महिनाभित्रमा दश वटा विद्युतीय बस समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ। कम्पनीका वरिष्ठ सल्लाहकार धर्मराज रिमालले आगामी दिनमा विद्युतीय सवारी साधन समेत थपेर ५० वटा विद्युतीय बस मात्र चलाउने योजना रहेकाे बताए । ‘हाल काठमाडौंको चक्रपथमा यात्रुहरुलाई सेवा दिदै आएको महानगर यातायातले टाटाका थप ४० वटा बसहरु आजैदेखि सचालनमा ल्याउँदैछ। नयाँ बस थपिएसँगै हाम्रा वसहरुको संख्या ८९ पुगेको छ,’ उनले भने, ‘सिप्रदी ट्रेडिङबाट नयाँ बसहरुको चावी लिँदै गर्दा थप जिम्मेवारीको महसुश गरेका छौं।’
नयाँ बसहरु संचालनमा आएसँगै महानगर यातायातले चक्रपथ बाहेकका अन्य गन्तब्य र रुटहरुमा पनि सेवा विस्तार गर्ने भएको छ। आजैदेखि महानगर यातायातले काठमाडौंको चन्द्रागिरी, गोदाम र थानकोटदेखि काभ्रेको बनेपा हुँदै धुलीखेलसम्मका रुटमा यात्रुहरुलाई सेवा प्रदान गर्न सुरु गर्नेछ।
प्रालिबाट पब्लिक हुदै आइपिओसम्म ल्याउने तयारी
कम्पनीले छिट्टै महानगर यातायातलाई पब्लिक कम्पनी लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने घोषणा गरेको छ। साथै प्रालिले अब छिट्टै विद्युतीय बस पनि ल्याउने तयारीमा छ । त्यो सफल भएमा थप बस संचालनमा ल्याउने तयारी महानगरको छ । ठूला क्षमताका बसहरू सञ्चालनमा आउँदा ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए।
FACEBOOK COMMENTS