वीरगञ्ज (पर्सा) । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती सेवासम्बन्धी विधेयक चालु संसद् अधिवेशनबाट पारित भएर ऐनका रूपमा कार्यान्वयनमा आउने बताएका छन् ।
आज यहाँ आयोजित नेपाल निजामती कर्मचारी सङ्गठन पर्साको १२ औँं जिल्ला अधिवेशनमा मन्त्री गुप्ताले यही अधिवेशनबाट उक्त ऐन जारी हुनेमा विश्वस्त रहन सबैलाई आग्रह गरे ।
‘चालु अधिवेशनबाट सङ्घीय निजामती सेवा ऐन जारी हुनेछ,’ मन्त्री गुप्ताले भने, ‘ट्रेड युनियनको अधिकारसहित समयसापेक्ष रूपमा कर्मचारीको पक्षमा ऐन कार्यान्वयनमा आउने छ ।’
उनले आफ्नो कार्यकालमा सङ्घीय निजामती सेवासम्बन्धी विधेयक स्वीकृत भएर कानुनी रूप लिने दाबी गरे ।
‘उक्त विधेयकमा परेका एक हजार पाँच सय ८३ संशोधनका प्रस्तावबाट स्वीकृत भएर विभिन्न निजामती कर्मचारीका सङ्घसङ्गठन, ट्रेड युनियन र लोकसेवा आयोगलगायत सरोकार भएका निकायसँग छलफल गरी अन्तिम चरणमा पुगेको छ,’ मन्त्री गुप्ताले भने, ‘प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी विधेयकको दफाबार छलफल गरिरहेको छ । समितिको पहिलो बैठकबाट विधेयकको तीन वटा दफा सर्वसहमत रूपमा स्वीकृत पनि गरिसकेका छौंँ ।’
मन्त्री गुप्ताले सङ्घीय निजामती सेवा ऐनमा ट्रेड युनियनको अधिकारलाई पनि उच्च प्रथामिकतामा राख्न लागिएको जानकारी दिँदै राष्ट्रसेवक कर्मचारी स्थायी सरकार रहेकाले कर्मचारीको हकहित र सुरक्षाका लागि आवश्यक पहलकदमी गर्ने प्रतिबद्धता व्यक्त गरे ।
FACEBOOK COMMENTS