काठमाडौं । कानुन व्यवसायीको अनुगमन र नियमन गर्ने संस्था नेपाल कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार सातै प्रदेशमा निर्वाचन हुँदैछ ।
परिषद्को ऐन, २०५० मा प्रत्येक प्रदेशमा कानुन व्यवसाय गर्ने वरिष्ठ तथा अधिवक्ताहरूको निर्वाचन मण्डलबाट एक जनाका दरले सात प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्षद्हरूको चयन गर्नुपर्ने व्यवस्थाअनुसार शनिबार निर्वाचन हुन लागेको हो ।
बागमती प्रदेशको मतदान शनिबारबिहान १० बजेदेखि अपहरान्न ४ बजेसम्म सर्वोच्च अदालत परिसरमा निर्वाचन हुनेछ । बागमती प्रदेशका पार्षद् डा चन्द्रकान्त ज्ञवालीका अनुसार मुलुकभर परिषद्को पार्षद् छनोटका लागि ११ हजार मतदाताले मतदान गर्न पाउने छन् ।
बागमतीमा मात्रै आठ हजार दुई सय मतदाता रहेका जनाउँदै उहाँले परिषद्बाट हालसम्म ३१ अौ परीक्षाबाट पास भएका सम्पूर्ण कानुन व्यवसायीले मतदान गर्न पाउने उल्लेख गरे ।
बागमती प्रदेशका लागि प्रगतिशील, पेसागत, देशभक्त, समावेशी समूहका साझा उम्मेदवार वरिष्ठ अधिवक्ता रविनारायण खनाल र नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसनका वरिष्ठ अधिवक्ता पर्शुराम कोइरालाले उम्मेदवारी दिए ।
वरिष्ठ अधिवक्ता खनालले परिषद्लाई कानुनी बौद्धिक क्षेत्रका रूपमा विकास गर्ने, कानुनी शिक्षालाई वैज्ञानिक अभ्यासमूलक र गुणस्तरीय बनाउने, छुट्टै कानुन विश्वविद्यालयको स्थापना गर्न आवश्यक पहल गर्ने, अन्तरराष्ट्रिय मापदण्डबमोजिम व्यावसायिक तथा व्यावहारिक शिक्षाको पाठ्यक्रम परिषद् आफैले विकास गरी सो पाठ्यक्रम लागू गर्न-गराउन पहल गर्नेलगायत प्रतिबद्धता व्यक्त गरे ।
वरिष्ठ अधिवक्ता कोइरालले आफ्नो उम्मेदवारीको प्रतिबद्धतापत्रमा कानुन व्यवसायीहरूको प्रमाणपत्र, परीक्षा सञ्चालन, कानुन व्यवसायीको अनुगमन, क्षमता विकासलगायत क्षेत्रमा काम गर्ने जनाए ।
महान्यायाधीवक्ताको अध्यक्षतामा रहने कानुन व्यवसायी परिषद्को उपाध्यक्षमा नेपाल बार एशोसियसनको निर्वाचित अध्यक्ष, सर्वोच्च अदालतको रजिष्ट्रार, त्रिभुवन विश्वविद्यालयको डिनसहित सात प्रदेशबाट सात जना पार्षद् चयन हुनेछन् । परिषद्को पार्षद्को पदावधि पाँच वर्षको हुनेछ ।
FACEBOOK COMMENTS