काठमाडौं । गायिका एलिना चौहान र उनका श्रीमान् विष्णु सापकोटाबीच कानुनी रूपमै सम्बन्धविच्छेद भएको छ । एलिनाले सम्बन्धविच्छेदका लागि दर्ता गरेको मुद्दा काठमाडौं जिल्ला अदालतले आज किनारा लगाएको हो ।
एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो । उनीहरूको वैवाहिक सम्बन्ध एक वर्ष पनि टिक्न सकेन ।
सम्बविच्छेदपछि एलिनाले फेसबुकमा भावुक स्ट्याटस लेखेकी छन् ।
यस्तो छ उनको स्ट्याटस :
‘प्रिय विष्णु,
अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन् । तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दूरका डोबहरू अझै उस्तै छन् । तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन् । हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ । वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ । तर फेरा, चुरा, सिन्दूर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ । भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ, जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायुमै पूर्णविराम लागेको । यो रहरले होइन, जुन बाध्यता तिमी, मलाई र भगवानलाई मात्र थाहा छ । आजदेखि स्वतन्त्र भएर कानुनी रूपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ । पत्नीका रूपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु । तिमीलाई बाँकी जीवनको धेरैधेरै शुभकामना विष्णु !’
FACEBOOK COMMENTS