काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
आज काठमाडौँ प्लाजको सभा कक्षमा आयोजना भएको समीक्षा कार्यक्रममा बोल्दै प्रमुख बालेन्द्र शाह (बालेन) ले, नतिजालाई खर्चमा भन्दा भौतिक उपलब्धीमा दाँजेर अवस्था पत्ता लगाउनु पर्ने बताए । ‘पैसा खर्च गरे प्रगति हुने, खर्च नगरी काम गरे प्रगति नहुने विधि सच्याउनु पर्छ ।’ उनले भने, ‘महत्वपूर्ण कुरा भनेको नागरिकलाई दिनु पर्ने सेवा सहजै प्राप्त भएको छ कि छैन । तर्जुमा गरिएका कामको प्रभावकारी कार्यान्वयन भएको छ कि छैन भन्ने हो । लक्षित कार्यक्रम प्रभावकारी कार्यान्वयन भएका छन् भने खर्च भएन भनेर गुनासो गर्नु पर्दैन ।’
आन्तरिक राजस्व संकलनमा विषयमा भएको छलफलका क्रममा प्रमुख शाहले सार्वजनिक निकायले सञ्चालन गरेका व्यवसायिक क्षेत्रको करका विषयमा स्पष्ट पार्दै भने, ‘व्यवसाय सञ्चालन गरेपछि सबैले कर तिर्नु पर्छ । चाहे त्यो व्यक्ति होस् । निजी क्षेत्र होस् या सार्वजनिक निकाय होस् । यसमा दोधार हुनु पर्दैन ।
समीक्षा कार्यक्रमपछि उपप्रमुख सुनिता डंगोलले, लक्ष्यप्रति दृढ भएर काम गर्नु पर्नेमा जोड दिए ।
योजना, अनुगमन तथा मूल्याङ्कन एकाइले समीक्षा सञ्चालन गरेको हो । समीक्षाको शुरुवातमा एकाइका प्रमुख सुमित्रा लामिछानेले समग्र प्रस्तुति गर्नुभएको थियो । यस क्रममा सम्बन्धित विभागका प्रमुखहरुले आफूसँग सम्बन्धित विषयमा स्पष्ट पारे ।
चालु आर्थिक वर्षको यस अवधिमा महानगरपालिकाले ४०.६६ किलोमिटर सडक कालोपत्रे, १०.३२ किलोमिटर सडक ढलान र ४१.३२ किलोमिटर सडकमा ब्लक छापेको छ । १२.१६ किलोमिटर ढल राखेको छ । १६ वटा भवन र ९ वटा पार्क निर्माण गरेको छ ।
२४ वटा मूर्त निर्माण र २६ वटा अमूर्त सम्पदा संरक्षण कार्य सम्पन्न भएका छन् । सार्वजनिक खरिदमार्फत ३२ वटा र उपभोक्ताबाट ७७ वटा योजना कार्यान्वयनमा गएका छन् । १५ वटा योजना खरिद प्रक्रियामा छन् । ११५ वटा योजनाको विस्तृत परियोजना प्रतिवेदन र नक्साङ्कन भइरहेको छ । ५ वटा वडाभित्रका ठाउँहरुको मौलिक नाम अभिलेखन भइसकेको छ ।
४६६ वटा मन्दिर र ८१ वटा ढुङ्गेधाराको सरसफाइ भएको छ । यस्तै ढुङ्गेधारा र हितिहरुको स्रोत र निकासा खोज्ने काम भइरहेको छ । अफिस अटोमेसन कार्यान्वयनमा ल्याइएको छ । यसबाट टिप्पणी, दर्ता चलानी अनलाइन प्रणालीबाट सञ्चालन हुने गरेको छ । इअफिसका लागि ४७८ वटा डिजिटल सिग्नेर प्रयोगमा ल्याइएको छ । महानगरपालिकाका ८५ वटा सेवा केन्द्रलाई इन्ट्रानेटबाट जोडिएको छ ।
सहरी योजना आयोगबाट ८१ करोड ८१ लाख बराबरका ५३ वटा परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ । थप ७४ वटा योजनाको डिपिआर तयार हुँदैछ । १० करोड रुपैयाँभन्दा धेरै लागत भएका १५ वटा, १० करोड रुपैयाँसम्मका २१ वटा, मालसामानको ५१ वटा र वडा कार्यालयका १४ वटा खरिद सम्बन्धी सूचना प्रकाशन गरेर प्राप्त प्रस्तावहरुको मूल्याङ्कन र सम्झौता भएको छ ।
एकल सेवा केन्द्रमा विद्युतीय प्रणालीमा दर्ता गरेर ९ हजार ६०९ वटा निवेदनहरु सम्बन्धित विभागमा पठाइएको छ । १५ हजार जना सेवाग्राहीलाई सोधपुछमार्फत सेवा सम्बन्धी सहजीकरण गरिएको छ । एकल सेवा केन्द्रसँगै रहेका कक्षहरुबाट ४६५ जनालाई प्राथमिक र आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराइएको छ । केन्द्रमा आउने सबै सेवाग्राहीलाई निःशुल्क चिया, कफी र पानी उपलब्ध गराइएको छ ।
FACEBOOK COMMENTS