काठमाडौं । नेपाल धितोपत्र बोर्डले वित्तीय कारबाही सम्बन्धी नयाँ मार्गदर्शन जारी गरेको छ।
यस मार्गदर्शनले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण नियमावली, २०८१ अन्तर्गत धितोपत्र बजारका सहभागीहरूलाई लक्षित गरेको हो। बोर्डको नयाँ निर्देशनले वित्तीय प्रवाहको पारदर्शिता र सुरक्षा सुनिश्चित गर्न कडा व्यवस्थाहरू लागू गर्ने उद्देश्य राखेको छ।
नयाँ मार्गदर्शनअनुसार, धितोपत्र बजारका सहभागीहरूले नेपाल सरकारको गृह मन्त्रालयको वेबसाइटमा सार्वजनिक युनाइटेड नेशन स्याङसन लिस्टमा समावेश भएका व्यक्तिहरू, समूहहरू वा सङ्गठनहरूको तथ्याङ्क नियमित रूपमा अद्यावधिक प्रणालीमा पुष्टि गर्नुपर्नेछ। यसै आधारमा, यदि कुनै सूचीकृत व्यक्ति वा समूहसँग सम्बन्धित सम्पत्ति वा कोष फेला परेको खण्डमा, उक्त सम्पत्ति तुरुन्तै रोक्का गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, मार्गदर्शनमा आतङ्ककारी कार्य, आमविनाशका हातहतियार निर्माण र विस्तारमा संलग्नता देखाउने व्यक्तिहरू वा सङ्गठनहरूसँग सम्बन्धित वित्तीय लगानीको नियन्त्रणमा कडा कदम चाल्न भनिएको छ। धितोपत्र बजार सहभागीहरूले शङ्कास्पद व्यक्तिहरूको वित्तीय जानकारी वित्तीय जानकारी इकाईमा रिपोर्ट गर्नुपर्नेछ, जसले वित्तीय प्रणालीमा पारदर्शिता ल्याउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ।
यस कदमले नेपालमा वित्तीय गतिविधिहरूको पारदर्शिता र सुरक्षा बढाउने र मनी लाउण्डरिङ र आतङ्ककारी लगानीको रोकथाममा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ। यो नयाँ मार्गदर्शन वित्तीय क्षेत्रमा सजगता र उत्तरदायित्वको नयाँ युगको सुरूवात हुन सक्छ।
FACEBOOK COMMENTS