काठमाडौं । युवा साहित्यकार मणि निरौलाले नवसर्जक साहित्य चौतारी नेपाल, हेटौंडाले प्रदान गर्दै आएको ‘योग-हरि पौडेल स्मृति नवसर्जक प्रतिभा सम्मान, २०८१’ प्राप्त गरेका छन् ।
मकवानपुरको हेटौंडामा आयोजित ‘दोस्रो राष्ट्रिय नवसर्जक उत्सव एवम् प्रथम केन्द्रीय अधिवेशन, २०८१’ का अवसरमा प्रादेशिक प्रतिभा सम्मान (कोशी प्रदेश) को रूपमा निरौलालाई उक्त सम्मान प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल र पुरस्कार संस्थापक हेटौंडाकी साहित्यसेवी प्रभा पौडेलले साहित्यकार निरौलालाई खादा ओढाएर नगद राशि र सम्मानपत्रले सम्मान गरेका थिए ।
किशोरवयमै कृति प्रकाशनका माध्यमबाट साहित्य लेखनका क्षेत्रमा प्रदर्शन गरेको प्रतिभाको कदरस्वरूप निरौलालाई उक्त सम्मान प्रदान गरिएको चौतारीले जनाएको छ ।
साहित्यसेवी पौडेलले आफ्ना हजुरबुबा-हजुरआमाको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेकी हुन् ।
सो अवसरमा निरौलासहित सातै प्रदेशका नवसर्जकहरूलाई फरकफरक विधाका सम्मान प्रदान गरिएको थियो । त्यस्तै अग्रज स्रष्टा प्राडा चूडामणि बन्धुलाई ‘लोकनाथ न्यौपाने स्मृति बालवाङ्मय सम्मान, २०८१’ प्रदान गरिएको थियो ।
‘पहिलो पाइला’ (कवितासङ्ग्रह, २०७७) बाट नेपाली साहित्य जगतमा उदाएका साहित्यकार निरौलाले हालै आफ्नो दोस्रो कृतिका रूपमा उपन्यास ‘गुप्त प्रेम’ बजारमा ल्याएका छन् ।
FACEBOOK COMMENTS