काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आफ्नो एफपीओ बाँडफाँट गरेको छ ।
बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा शुक्रबार सम्पन्न बाँडफाँटअनुसार १९ हजार ५७७ जनाले शेयर प्राप्त गरेका छन् । तीमध्ये १९ हजार ५७४ जनाले १० कित्ता र ३ जनाले ११ कित्ता शेयर पाएका छन् ।
कम्पनीको एफपीओमा १७ लाख ८० हजार ४५७ जनाले कुल २ करोड १७ लाख १५ हजार ७५० कित्ताका लागि आवेदन दिएका थिए । त्यसमध्ये २ हजार ६६४ जनाको आवेदन रद्द भएको थियो । बाँकी १७ लाख ७७ हजार ७९३ जना योग्य आवेदकमध्येबाट गोलाप्रथामार्फत भाग्यशालीलाई शेयर बाँडफाँट गरिएको हो ।
कम्पनीले फागुन १८ गतेदेखि २१ गतेसम्म एफपीओ निष्कासन गरेको थियो । लगानीकर्ताले आफ्नो नतिजा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइट, मेरोशेयर एकाउन्ट, कम्पनीको आधिकारिक वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडको पोर्टलमार्फत हेर्न सक्नेछन् ।
FACEBOOK COMMENTS