कोरोना संक्रमितलाई जस्तै छोइछिटो गरिएको र झाडापखाला लागेकोमा क्वारेन्टाइन र आइसोलेसनमा उपचारमा ध्यान नदिएकाले धनुषाका राजु सदाको मृत्यु भएको परिवारको आरोप छ ।
धनुषाको हंसपुर नगरपालिका–७ नौवाखोर प्रसाहीका १६ वर्षीय राजु सदाको क्वारेन्टाइन र आइसोलेसन केन्द्रको हेल्चेक्र्याइँले मृत्यु भएको परिवारले आरोप लगाएको छ । उनको आरडीटी परीक्षण रिपोर्ट पोजिटिभ र पीसीआर रिपोर्ट भने नेगेटिभ आएको थियो ।
प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन केन्द्रमा छोरा राजु सदाको मृत्यु भएपछि विक्षिप्त बनेकी नीलमदेवीलाई सम्हाल्दै आफन्त । भारतको चेन्नईबाट जेठ १४ गते आइपुगेका राजुको असार ५ गते मृत्यु भएको हो।
क्वारेन्टाइनमा १४ दिन रहँदा गम्भीर अवस्था हुँदा पनि उपचारमा ध्यान नदिएको तथा आइसोलेसनमा राखिँदा पनि पीसीआर रिपोर्ट नआएको भन्दै चिकित्सक नजिक नै नपरेकाले उपचार अभावमा सदाको मृत्यु भएको परिवारको दाबी छ ।
लकडाउनले जागिर गुमेपछि जेठ १४ मा भारतको चेन्नईबाट आठ दिनको यात्रा गरेर धनुषाको जटही नाका आइपुगेका उनलाई पखाला लाग्यो । पैदल, बस र रेलको यात्राले शरीर थकित त भएकै थियो, सदाले बाटोमा राम्रोसँग खाना पनि खान नपाएको बताएका थिए । नाकामा आउँदै उनलाई उपचारको खाँचो थियो । तर, सोझै क्वारेन्टाइन लगियो ।
नौवाखोरको क्वारेन्टाइनमा भेट्न बुवा असे सदा पुग्दा छोरा राजुको शरीर कमजोर देखे । क्वारेन्टाइनका कर्मचारीसित राजुले आफू निकै कमजोर बनेको भन्दै सलाइन पानी चढाइदिन धेरै पटक अनुनय–विनय गरेका असेले सुनाए । ‘टाउको दुखिरहने । खाना खाएलगत्तै उल्टी गथ्र्यो,’ असेले भने, ‘छोराको शरीरले उपचार खोजिरहेको थियो । तर, क्वारेन्टाइनमा बसेका कर्मचारीले सलाइन पानी चढाउन अनुमति नरहेको भन्दै टारे ।’ क्वारेन्टाइनमा बस्दा प्रतिदिन राजुको शरीर कमजोर हुँदै गयो । असेका अनुसार उपचार गराउन आफैं लैजान्छौं भन्दा पनि क्वारेन्टाइन व्यवस्थापनले मानेनन् ।
‘छोराको अनुहार सुकेको थियो, शरीर कमजोर । धेरै पटक मैले नै उपचार गराउन अस्पताल लग्छु भन्दा क्वारेन्टाइनबाट जान दिएनन्,’ राजुका बुवा असेले भने, ‘कोरोनाको रिपोर्ट नआएकाले बाहिर लैजान मिल्दैन मात्र भनिरहे । यता छोरा झन्झन् कमजोर हुँदै थियो ।’
आरडीटी रिपोर्ट पोजिटिभ आएपछि जेठ २८ मा राजुसहित उनीसँगै क्वारेन्टाइनमा बसिरहेका अरुण सदालाई पनि टिपरमा हालेर जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा पठाइयो । आइसोलेसन केन्द्रको प्रतीक्षा कक्षमा राजु र अरुणसहित सिरहाका अर्का संक्रमित पनि थपिए । राजुको बुवा असेले बुधबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा तीनवटा प्रश्न गरे, ‘राजुलाई कोरोना पोजिटिभ थियो भने टिपरमा राखेर किन आइसोलेसनमा लगियो, आइसोलेसनमा किन भर्ना गरिएन र कोरोना पोजिटिभ थिएन भने किन आइसोलेसनमा लगियो रु’ यिनै प्रश्नको उत्तर खोज्दै असेले छोरा राजुको मृत्युको कारण क्वारेन्टाइन र आइसोलेसन रहेको दाबी गरे ।
उनको अर्को पनि दुखमनाउ छ । ‘आइसोलेसन कक्ष बाहिर राखिएका राजुलाई हेरचाह र उपचार गर्न कोही पनि आउँदैनथ्यो,’ असेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अस्पतालमा ल्याउँदा पनि राजुको पखाला निको भएको थिएन । टाउको दुख्ने र खाना खाँदा उल्टी हुने क्रम उस्तै थियो । ऊ बेडमै छटपटाउँथ्यो । बेचैनी महसुस गथ्र्यो ।’ असेका अनुसार पेट पोल्ने, पखाला लाग्ने र उल्टी भइरहेकोबारे राजुले आइसोलेसन कक्षका चिकित्सकहरूलाई पटक–पटक भनेका थिए । तर कसैले वास्ता गरेनन् । सँगै रहेका अरुणलाई राजुको छटपटीले बेचैन बनाउँथ्यो । नर्स–डाक्टरलाई गुहार लगाउँथ्यो । बल्लतल्ल आउने नर्स–डाक्टरले परैबाट औषधि दिएर जान्थे ।
असार ५ को बिहान ३ बजे राजु अचानक बेडबाट झरे । उनी छटपटाइरहेका थिए । शरीर तन्काउन थाले । बोल्न पनि छोडे । अरुणले नर्स र डाक्टरलाई फोन गरेर बोलाए । नर्स त आइन् तर ढोकामै रोकिइन् । अरुणले राजुलाई उठाएर बेडमा राखे र गुडाउँदै नर्सनेर लगे । नर्सले त्यही सलाइन पानी लगाइदिइन् । ‘केही परे फोन गर्नू’ भन्दै नर्स हिँडिन् । यो क्रम तीन दिनसम्म चल्यो । असेका अनुसार राजुको कमजोर शरीर सलाइन पानीले मात्र धान्ने स्थितिमा थिएन ।
सोमबार राजु र अरुणको पीसीआर रिपोर्ट नेगेटिभ आयो । त्यो जानकारी दिन भने डाक्टर उनीहरूको छेउमै आइपुगे । ‘तिमीलाई केही भएको छैन, घर जाऊ,’ डाक्टरले अरुणलाई भने । राजुको अवस्था गम्भीर रहेकाले उनका बुवा असे र आमा नीलमदेवीलाई अस्पतालले बोलायो । ‘उपचार गराउन बाहिर लैजानु भन्दै डाक्टर हिँडिहाले,’ असेले भने, ‘टेम्पोमा राखेर राजुलाई इमर्जेन्सी कक्षमा लगें ।’ केहीबेरमा राजुले इमर्जेन्सी कक्षमै प्राण त्यागे ।
FACEBOOK COMMENTS