काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार अर्थतन्त्रलाई लयमा फर्काउन दृढ सङ्कल्पित रहेको बताएका छन् ।
आज बिहीबार काठमाडौंमा आयोजित नेपाल उद्योग वाणिज्य महासङ्घको ५९औँ वार्षिक साधारणसभा एमव् उद्योग वाणिज्य दिवस–२०८१ लाई सम्बोधन गर्दै उनले सरकार अर्थतन्त्रमा रहेका चुनौतीहरूको सामना गर्दै दिगो आर्थिक विकासको मार्गचित्र कोर्न प्रतिबद्ध रहेको बताएका हुन् ।
‘विश्वव्यापी आर्थिक मन्दीको प्रभाव, कोभिड–१९ महामारीले सिर्जना गरेको अवरोध र भूराजनीतिक अवस्थाका कारणले हाम्रो अर्थतन्त्रमा केही दबाब महसुस भएको छ,’ मन्त्री भण्डारीले भने, ‘सरकार यी चुनौतीहरूको सामना गर्दै अर्थतन्त्रलाई पुनः लयमा फर्काउन र दिगो आर्थिक विकासको मार्गचित्र कोर्न दृढ सङ्कल्पित रहेको छ ।’
उनले उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामा रहेको पनि बताए । सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने, आयात प्रतिस्थापन गर्ने, निर्यात प्रवर्द्धन र विभिन्न नीतिगत तथा कार्यक्रमिक प्रयासहरू थालेको जानकारी उनले दिए ।
FACEBOOK COMMENTS