काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग, नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी) तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा काठमाडौंमा हुने ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०२५’ को तयारी पूरा भएको छ ।
महासंघले मंगलबार महासंघ सचिवालय टेकुमा पत्रकार सम्मेलन आयोजना गरी मेलाको तयारीबारे जानकारी गराएको हो । यही वैशाख २५ देखि २९ गतेसम्म भृकृटीमण्डपमा आयोजना हुने मेलामा नेपालसहित चीन, भारत, पाकिस्तान, र बङ्गलादेशका स्टलहरू सहभागी हुनेछन् भने र थाइल्याण्डको पनि सहभागिता रहनेछ ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले मेलाले नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उकास्न सघाउ पुर्याउने बताए । उनले स्वदेशी तथा विदेशी गरी कुल २५० भन्दा बढी स्टलमार्फत स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब २० हजार अवलोकनकर्ताहरूले अवलोकन गर्ने अपेक्षा राखिएको बताए ।
यस्तै, अर्का उपाध्यक्ष हेमराज ढकालले मेलाको यो दशौं संस्करण भएको जानकारी दिँदै मेलामा मेड इन नेपाल पेभेलियन तथा वस्तुगत संघहरूको पेभेलियन रहने जानकारी जानकारी दिए । यस्तै मेलामा मेड इन नेपाल सो, हस्तकला उत्पादनहरू, वस्तुगत संघहरूका उत्पादनहरू, साथै चारपांग्रे र दुईपांग्रे विद्युतीय गाडी (ईभी) हरूसमेत उपाध्यक्ष ढकालले जानकारी दिए ।
यस्तै महासंघका केन्द्रीय सदस्य तथा व्यापार मेला समितिका सभापति उमेश डाल्मियाले मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माणसम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरू राखिने र मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवर्द्धन तथा लगानीबारे छलफलसमेत हुने बताए ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी) का वरिष्ठ अधिकृत मीनबहादुर कुँवरले नेपाली वस्तुको अन्तर्राष्टिय बजारीकरणका लागि मेला फलदायी हुने बताए ।
मेलामा चीनबाट पावर ट्रान्समिशन इक्युपमेन्ट, इलेक्ट्रिकल्स तथा अटोमोबाइल्स, फुड एण्ड वेभरेज, मिल्क प्रडक्ट, किचन वेयर, गार्मेन्ट्स, समर्टवाच, बंगलादेशबाट गार्मेन्ट्स, पाकिस्तानबाट लेदर तथा गार्मेन्ट्स स्टलहरू रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
मेलाको मुख्य प्रायोजकका रूपमा आईएमई पे तथा स्पोन्सरका रूपमा हेरिटेज कार्पेट रहेको प्यापार मेला समितिका उपसभापति सविन श्रेष्ठले जानकारी दिए । मेलामा ज्येष्ठ नागरिक तथा फरक रूपले नागरिकहरूलाई निःशुल्क तथा विद्यार्थीहरूलाई उनीहरूको प्रवेशपत्रका आधारमा ५० प्रतिशत प्रवेश छुटको व्यवस्थासमेत गरिनुका साथै विभिन्न जिल्लाहरूमा आयोजना भएका मेलाहरूमा उत्कृष्ट स्टल तथा उत्पादनलाई एनआईटीएफमा निःशुल्क स्टल उपलब्ध गराइने महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
FACEBOOK COMMENTS