काठमाडौं । नेकपा (एमाले) ले काठमाडौंको भृकुटीमण्डपमा भव्य समारोह आयोजना गरी लोकतन्त्र दिवस मनाएको छ ।
‘जनताले जितेको दिन’ को स्मरण युवाहरूलाई गराउन एमालेले आज ‘युथ सेलिब्रेशन’ नाम दिएर काठमाडौंमा भव्य कार्यक्रम आयोजना गरेको हो । महिला, जनजाति र थुप्रै युवाहरूले मन्तव्यको अवसर पाएको यो ठूलो कार्यक्रममा विभिन्न कलाकारहरूको प्रस्तुतिहरू पनि समावेश गरिएको थियो ।
कार्यक्रममा विभिन्न कन्सर्ट, साङ्गीतिक कार्यक्रम, झाँकी र नृत्यलगायत प्रस्तुतिहरू अहिले पनि जारी छन् । साथमा विभिन्न ब्याण्ड र कलाकारले आफ्नो प्रस्तुतिहरू पनि छन् ।
फितलो व्यवस्थापन
राष्ट्रिय युवा संघ नेपालको संयोजनमा भइरहेको यो कार्यक्रमले एमालेको गरिमा र ग्राफ बढाएको छ । युवालाई निकट इतिहास सम्झाउन र बुझाउनका लागि एमालेले गरेको यो गैरराजनीतिकजस्तो रचनात्मक कार्यक्रमले उसको गरिमा र ग्राफ बढाउन मद्दत गरेको हो । साथै, लोकतन्त्र र गणतन्त्र प्राप्तीमा एमालेको भूमिका सम्झाउने र विद्यमान व्यवस्था जोगाउन अडिग छ भन्ने सन्देश दिन यो कार्यक्रम काफी छ ।
त्यसैका लागि देशभरबाट हजारौँको सङ्ख्यामा युवाहरू काठमाडौं आइ कार्यक्रममा सहभागी भए । तर, सहभागीहरूको सहजताका लागि कार्यक्रमको व्यवस्थापन भने अत्यन्तै कमजोर भएको उनीहरूले बताएका छन् । कार्यक्रमका लागि पद्मोदय मोडमा मुख्य मञ्च निर्माण गरिएको थियो । एमालेकै अन्य कार्यक्रमको तुलनामा निकै सानो, होचो र हेर्दा मञ्चजस्तो पनि नदेखिने यो ठाउँमा को उभिएर बोलिरहेको छ, कस्तो हाउभाउ गरिरहेको छ वा मञ्चमा के भइरहेको छ भन्ने देख्न सहभागीलाई कठिन थियो ।
मञ्चकै अगाडि साउण्ड सिस्टमका लागि घामपानी छेक्न भनेर टेण्ट राखिएको र त्यसको दायाँबाँयाँ मिडियाकर्मीका लागि क्यामेरा ठड्याउने ठाउँ दिइएको थियो । जसले मञ्चलाई पूरै छेकेको थियो । यसरी मञ्च छेकिँदा केही नदेखिएको भन्दै सहभागीहरू ‘यो कार्यक्रम र मञ्च व्यवस्थापन कसले गरेको ? किन यसो गरेको ?’ भन्दै हिँडिरहेका भेटिन्थे । कसै–कसैले त ‘कुन नेताले कतिको टेण्डर पार्यो, थोरै खर्च गरेर धेरै झ्वाम पार्यो’ भनेर पनि टिप्पणी गरिरहेका सुनिए ।
एमालेका अरु धेरै यस्ता कार्यक्रममा वक्ताहरूलाई स्पष्ट देख्न सकिनेगरि डिस्प्ले बोर्डहरू राखेको देखिन्थ्यो, तर यो कार्यक्रममा त्यस्तो डिस्प्ले पोरियमको पछाडिबाहेक अन्त कतै देखिदैनथ्यो । ठाउँ–ठाउँमा राखिएका स्पिकरहरूमा समेत दमदार आवाज नसुनिएपछि सहभागीहरू भन्दैथिए, ‘ह्या.. कस्तो झुर सेटअप, दिक्क लाग्दो आवाज’ ।
कार्यक्रम सञ्चालन पनि बडो अलमलका साथ भइरहेको स्पष्ट देखिन्थ्यो ।
यो पनि पढ्नुहोस्–
राष्ट्र निर्माणको भविष्य युवाको काँधमा छ : एमाले महासचिव पोखरेल
FACEBOOK COMMENTS