परासी । दसैँ–तिहारको उल्लास बढाउने र स्थानीय समुदायसँगको सहकार्य बढाउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटले विभिन्न स्थानमा लिङ्गेपिङ निर्माण गरेको छ ।
शिक्षालयको टोलीले पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित नगरपालिका टोल र बाढीपीडित टोलमा बालबालिका तथा स्थानीयवासीका लागि लिङ्गेपिङ निर्माण गरेको हो ।
शिक्षालयका प्रमुख एवम् सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुधीर सुवेदीले नागरिक र सुरक्षाकर्मीबीचको सामाजिक तथा भावनात्मक सम्बन्ध थप प्रगाढ बनाउनुका साथै नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले पिङ निर्माण गरिएको बताए ।
सीमा सुरक्षा तथा नागरिकको रक्षाको जिम्मेवारी निर्वाह गर्नुका साथै समुदायका सुख–दु:खमा समेत साथ दिनु सशस्त्र प्रहरीको प्राथमिकता रहेको उनले बताए ।
सशस्त्र प्रहरीका सुरक्षाकर्मी आफैँ टोलमा पुगेर पिङ निर्माण गरिदिएपछि स्थानीयवासी उत्साहित भएका छन् । बालबालिका, युवा तथा बाढीपीडित क्षेत्रका बासिन्दा आफ्नै टोलमा पिङमा रमाएका छन् ।

केही समयअघिसम्म टोलटोलमा पिङ बनाएर रमाउने गरिन्थ्यो । दसैँमा एक पटक भए पनि भुइँ छोड्नुपर्ने मान्यता छ । तर पछिल्लो समय पिङ हराउँदै गएको छ ।
