काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र पश्चमगनलाई अस्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न युवाहरुले सङ्कल्प र तागत देखाउनुुपर्ने बताएका छन् ।
नेकपा (एमाले) ले लोकतन्त्र दिवसका अवसरमा आज भृकुटीमण्डपमा आयोजना गरेको युुवा उत्सव (युुथ सेलिब्रेसन) कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षा गर्दै युवा अघि बढ्नुपर्ने र युवाले देश बनाउने सङ्कल्प गरी त्यसलाई साकार पार्नुपर्ने बताएका हुन् ।
‘देशमा अराजकता मच्चाउने र विभाजन गर्ने तत्वसँग सचेत हुनुपर्छ, नेपाल महान् नेपाल हो, नेपाली जनता महान् जनता हुन् । महान नेपालका नेपाली युवा त्यसअनुसार अघि बढ्नेछन् । ढुक्क हुनुुहोस्, यसको नेतृत्व एमालेले बाटो नबिराइ गर्नेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘वैैशाख ११ गते निरङ्कुश राजतन्त्र पराजय र लोकतन्त्रले जितेको दिन हो । यो दिनलाई उत्सवको रूपमा मनाउनुपर्छ ।’
निरङ्कुश व्यवस्थाकै कारण देश विकासमा पछि परेको चर्चा गर्दै उनले अगाडि भने, ‘निरङ्कुश व्यवस्थाका कारण देश लामो समय अन्धकारकारको युगमा गुज्रिएको थियो । हामीले अनेक कठिनाइ झेलेर सङ्घर्ष गर्दै देशलाई अहिलेको अवस्थामा ल्याएका हौँ । सामन्ती व्यवस्थालाई पुनः फर्काउने भन्दै व्यक्तिका घर, पार्टी कार्यालय र सञ्चार संस्थामा तोडफोड गर्ने तथा व्यक्तिलाई जिउँदै आगो लगाउने जस्ता जङ्गली र राक्षसी प्रकृत्ति गलत हो । यस्ता कार्य सैह्य हुँदैन ।’
एमालेको राष्ट्रवादी अडान र दृष्टिकोणको कारणले राष्ट्र विरोधी तत्वहरू एमाले विरुद्ध खनिएका उल्लेख गर्दै उनले त्यस्ता शक्तिले एमालेविरुद्ध हरेक दिन भ्रम फिजाउने कार्य गरेको टिप्पणी गरे । प्रधानमन्त्री ओलीले मुलुकमा एमाले र कांग्रेसको सरकार देशमा स्थिरता दिने गरी एउटा लक्षका साथ बनेको स्पष्ट गर्दै आफ्नो पार्टी सरकारतिर नभई चुनावतिर ध्यान दिइरहेको स्पष्ट गरे ।
आज युवालाई भड्काउने अनेक प्रयास भइरहेको भन्दै प्रधानमन्त्री ओलीले केही मानिसहरूलाई सामाजिक सञ्जालमा प्रयोग गरेर देशभरका मानिसलाई भड्काउने प्रयास भएको भन्दै यसमा सचेत हुनुपर्नेमा जोड दिए ।
यो पनि पढ्नुहोस्–
युथ सेलिब्रेशनमा ‘सेल्फी विथ केपी ओली’
एमालेको गरिमा बढाउने कार्यक्रम ‘युथ सेलिब्रेशन’को व्यवस्थापन किन ‘झुर’ ?
FACEBOOK COMMENTS