काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ ।
ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजका सह–संस्थापक तथा कार्यकारी निर्देशक महेन्द्रराज कँडेल र फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले नवप्रवर्तन, उद्यमशीलता र दिगो विकासलाई प्रवद्र्धनको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
ब्रिटिस कलेज इन्क्युबेसन सेन्टरका प्रमुख गणेश पौडेल र फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालको उपस्थितिमा भएको सम्झौताले दुबै संस्थाले स्थानीय उद्यमीहरूका लागि स्टार्टअप इन्क्युबेसन र मार्गदर्शन गर्ने, डिजिटल साक्षरता, ब्यापार, र प्रविधिमा सीप विकास कार्यशालाको आयोजना गर्ने, कृषि प्रविधि, ग्रामीण पर्यटन, र हस्तकला आधारित स्टार्टअपहरूमा सहयोग गर्ने उदेश्य लिएको छ ।
साथै, स्मार्ट गाउँ तथा डिजिटल शासन प्रणालीको प्रवद्र्धन गर्ने, उद्यमशिलतासम्बन्धी नीति निर्माणमा सहयोग गर्ने साथै, ग्रामीण नवप्रवर्तकहरूलाई बजार तथा लगानी पहुँच विस्तार गर्ने योजना रहेको छ ।
सम्झौतापछि प्रतिक्रिया दिँदै ब्रिटिस कलेजका कार्यकारी निर्देशक कँडेलले भने, ‘यो साझेदारी टीबीसीको ग्रासरुटमा आधारित नवप्रवर्तनप्रतिको प्रतिबद्धता हो । हाम्रो इन्क्युबेसनमा जोडिएका विद्यार्थी तथा ब्यवसायिक संस्थाहरु बीचका विशेषज्ञता प्रयोग गरी फिक्कलका युवा र किसानहरूको उद्यमशिल सम्भावनाको खोजी र अनुसन्धान गर्दै त्यसलाई बजार र प्रविधिसँग जोडिदिने कार्यको थालनी हुनेछ ।
त्यस्तै, फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले भनिन् ‘यो समझदारी हाम्रो समुदायका लागि रूपान्तरणकारी कदम हो । टीबीसीसँगको सहकार्यले रोजगारी सिर्जना, सीप अभिवृद्धि, र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुर्याउनेछ ।’
टीबीसी इन्क्यूबेशन सेन्टरका प्रमुख गणेश पौडेलले पनि आफूहरु नवप्रवर्तनलाई विकेन्द्रित गर्दै समावेशी आर्थिक अवसर सिर्जना गर्ने लक्ष्यमा रहेकोले यो साझेदारी महत्वपूर्ण रहेको बताए ।
समझदारी अनुसार, दुबै संस्थाले संयुक्त रूपमा ‘स्टिरिङ कमिटि’ गठन गरी कार्यक्रमहरूको योजना, कार्यान्वयन, र मूल्याङ्कनको जिम्मा लिनेछन् । प्रारम्भिक कार्यक्रमहरू साझा स्रोतको प्रयोगबाट सुरु गरिनेछ भने, दीर्घकालीन योजना तथा ठूला परियोजनाहरूका लागि बाह्य लगानी र सीएसआर खोजिनेछ ।
FACEBOOK COMMENTS