राष्ट्रिय उभपोक्ता मञ्चले सम्झायो निजी क्षेत्रलाई नुनको कारोबार गर्न दिँदा हुने जोखिम
कर्पोरट खबर
7:02 pm, मंगलबार, वैशाख १६, २०८२
काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले निजी क्षेत्रलाई आयोडिनयुक्त नुनको कारोबार गर्न दिने तयारीबारे कडा आपत्ति जनाएको छ ।
आज मङ्गलबार एक विज्ञप्ति जारी गर्दै मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले यस विषयमा मञ्चको ध्यानाकर्षण भएको जनाएका हुन् ।
आगामी बजेटमा समावेश गर्ने गरी निजी क्षेत्रलाई पनि नुनको आयात, आपूर्ति, भण्डारण र बिक्रीवितरण प्रणालीमा भित्र्याउने प्रयास सरकारमा रहेका राजनीतिक दल र नेताहरूबाट हुन थालेको भन्दै मञ्चले त्यसो गर्न उपयुक्त नहुने बताएको हो । यस्तो कार्य विगत गतमा नुनकै अवैध व्यापार गर्ने, कालोबजारी गर्ने व्यवसायीहरूको दबाबमा हुन थालेको जानकारीमा आएको मञ्चको भनाइ छ ।
उत्कृष्ट वितरण प्रणाली रहेको र एसियामै अति–गुणस्तरीय आयोडिनयुक्त नुन खान पाएका नेपाली जनतालाई विगतका दिन र वर्षहरूमा जस्तै निरन्तर सहज, सुलभ र सस्तो मूल्यमा आपूर्ति गर्ने साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत नै बिक्रीवितरण गर्न–गराउन मञ्चले सरकारसमक्ष जोडदार माग गरेको छ ।
सरकारले तोकेको गुणस्तरीय मापदण्ड र परिधिभित्र रही साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत बिक्रीवितरण हुँदै आएको आयोडिनयुक्त नुनको उपभोगकै कारण आज नेपालबाट गलगाँड, कण्ठरोग तथा आयोडिनको कमीले हुने रोगहरू निर्मूल हुने चरणमा पुगेको पनि मञ्चले स्मरण गराएको छ ।
निजी क्षेत्रलाई नुनको कारोबार खुला गर्दा मानव स्वास्थ्यमा हुन सक्ने जोखिम र आपूर्ति व्यवस्थापनमा हुन सक्ने असहजतालाई ध्यानमा राखी नुनको कारोबार निजी क्षेत्रलाई दिन नहुनेमा मञ्चले सरकारलाई सचेत गराएको छ ।
हेर्नुहोस् राष्ट्रिय उपभोक्ता मञ्चले जारी गरेको विज्ञप्ति–
FACEBOOK COMMENTS