काठमाडौं । राजधानीको ठमेलस्थित एलओडी क्लबका निर्देशक भूपेन कुँवरले कर्मचारीको निरन्तरको मेहनतले क्लबलाई यहाँसम्म ल्याइपुर्याएको बताएका छन् ।
एलओडी क्लब विश्वकै ४४औँ उत्कृष्ट बनेको अवसरमा आयोजित उत्सवमा उनले एलओडीले यो ठाउँमा जग गाडेर ६ वटा वसन्त पार गरिसकेको भन्दै यसमा कर्मचारीको ठूलो भूमिका रहेको बताए ।
उनले भने, ‘यो क्लबको मेरुदण्ड भनेको यहाँका कर्मचारीहरू हुनुहुन्छ । उहाँहरू नभए आज हामी यसरी तपाईंहरूको अगाडि उभिन सक्दैन थियौँ । उहाँहरूको मेहनत र जाँगरले हामीलाई तपाईंहरूको अगाडि उभिन सफल बनाएको छ । क्लबमा एक सय ५० जनाभन्दा बढी कर्मचारीहरू छन् ।’
यस्तै, उनले क्लबको पहिलो प्राथमकिता एक पटक आइसकेका पाहुनालाई पुनः फर्काउनु र पाहुनाहरूलाई सुरक्षित राख्नु भएको बताए ।
उनले भने, ‘हामी यहाँ आउने सबै पाहुनालाई एकै नजरले हेर्छौँ । यहाँको आतिथ्यताले पुनः ती पाहुनाहरू फर्केर आउनुहोस् भनेर सम्मान गरेर पठाउँछौँ । हामी नेपाली समाजदेखि टाढा छैनौँ । हामी पनि यही समाजका नागरिक हौँ । हामीप्रति कोही पनि नकारात्मक नभइदिनु होला । हामीले विशुद्ध व्यवसाय गरेका हौँ । हाम्रो तर्फबाट राज्यलाई गर्नुपर्ने दायित्व पूरा गरेका छौँ ।’
रात्रिकालीन व्यवसायमा धेरै चुनौती रहेको कुँवरले सुनाए । क्लबप्रति नेपाली समाजमा सकरात्मक धारणा बन्न नसकेको उनले गुनासो गरे । क्लब जाने मानिस बिग्रने जस्ता धारणा बन्ने गरेको उनले दुखेसो पोखे ।
निर्देशक कुँवरले एलओडी क्लबले क्लबप्रतिको धारणालाई चिर्न सकेको दाबी गरे ।
उनले विचार र नियत राम्रो भए जहाँसुकै पनि राम्रो भइने धारणा व्यक्त गरे । उनले भने, ‘नियत खराब भए त कसको के लाग्छ र ? आज म दाबीका साथ भन्छु, परिवारसहित क्लब आउने वातावरणको सुरुवात एलओडीले बनाएको भन्दा फरक नपर्ला,’ उनले अगाडि थपे,’ यहाँ परिवारसहित आएर आनन्दले नाचेर मनोरञ्जन गर्न सक्नुहुन्छ । अहिले काठमाडौं आउने देशी तथा विदेशी पाहुनाहरूको पहिलो लिस्टमा एलओडी प्राथमिकतामा पर्न थालेको छ । यो मुलुकका लगि गौरवको विषय बनेको छ ।’
व्यवसायमा आउनु ठूलो कुरा नभई आएपछि आइपुगेको ठाउँमा कसरी टिक्न सकिन्छ त्यो महत्त्वपूर्ण रहेको उनको बुझाइ छ ।
उनले संविधानलाई सधैँ शिरोधार्य गरेको र नेपाली समाजदेखि टाढा नपुगेको बताए ।
क्लबलाई आन्तरिक सजावटका लागि नयाँ स्वरूपमा बदल्न लागिएको छ । नयाँ टिट व्यवस्थापन भइसकेको छ । लाइट, म्युजिक सिस्टम र होल इन्टिरियरिङ डिजाइन परिवर्तन गर्ने योजना रहेको कुँवरले सुनाए ।
FACEBOOK COMMENTS