एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी तेल कारोबार गर्ने देश वा व्यक्तिलाई दण्डित गर्ने धम्की दिएपछि आफ्ना व्यापारिक साझेदारमाथि अमेरिकाले लगाएको प्रतिबन्धले आफ्नो नीतिमा कुनै परिवर्तन नगर्ने इरानले शुक्रबार जनाएको छ ।
“यी गैरकानुनी व्यवहारको निरन्तरताले इरानको तार्किक, वैध र अन्तर्राष्ट्रिय कानूनमा आधारित अडानमा परिवर्तन ल्याउने छैन,” इरानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा इरानको ‘व्यापार र आर्थिक साझेदारहरूमाथि दबाब’ को निन्दा गरिएको छ।
यस्ता प्रतिबन्धले कूटनीतिको मार्गमा अमेरिकाको गम्भीरताप्रति गहिरो शङ्का र अविश्वास पैदा गरेको विज्ञप्तिमा उल्लेख छ । बिहीबार ट्रम्पले इरानी तेल वा पेट्रोकेमिकल्सको ‘कुनै पनि मात्रा’ को विश्वव्यापी बहिष्कार गर्न आह्वान गरे ।
“इरानी तेल वा पेट्रोकेमिकल उत्पादनको सबै खरिद अब बन्द हुनुपर्छ,” ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखे । “कुनै पनि देश वा व्यक्तिले इरानबाट कुनै पनि परिमाणको तेल वा पेट्रोकेमिकल्स खरिद गर्दछ भने इरान तुरुन्तै कडा प्रतिबन्धहरूको अधीनमा रहनेछ,” उनले भने । मध्यस्थ ओमानले ‘व्यवस्थापकीय कारण’ देखाउँदै अमेरिकासँगको इरानको अर्को चरणको आणविक वार्ता स्थगित भएको पुष्टि गरेपछि यो प्रतिक्रिया आएको हो ।
ओमानले नयाँ चरणको वार्ताकोे मिति ‘आपसी सहमतिमा घोषणा गरिने’ बताएको छ । हालसम्म भएका तीन चरणको वार्तामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व गरेका विदेशमन्त्री अब्बास अराघचीले इरान ‘न्यायोचित र सन्तुलित सम्झौता’का लागि तयार रहेको बताए ।
अराघचीले एक्समा भने, “वार्ताद्वारा समाधान सुनिश्चित गर्ने हाम्रो सङ्कल्पमा कुनै परिवर्तन भएको छैन। कुनै पनि सम्झौताले ‘प्रतिबन्धहरूको अन्त्य’ को ग्यारेन्टी गर्नुपर्छ ।”
ट्रम्पले सन् २०१८ मा तेहरान र प्रमुख शक्तिराष्ट्रहरूबीच भएको ऐतिहासिक सम्झौता त्यागेपछि इरानको आणविक कार्यक्रमबारे यो उच्चस्तरीय सम्पर्क हो ।
FACEBOOK COMMENTS