दाङ । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाले कुरा मात्र गरेर देशको अर्थतन्त्र सुधार नहुने बताएकी छिन् ।
तुलसीपुर उद्योग वाणिज्य संघको ३०औं वार्षिक साधारण सभालाई हिजो शनिबार दाङको तुलसीपुरमा सम्बोधन गर्दै उनले अहिले देशको अर्थतन्त्र सङ्कटपूर्ण अवस्थामा रहेको र कुरा मात्रै गरेर सुधार नहुने बताएकी हुन् ।
‘अहिले अर्थतन्त्रको अवस्था एकदमै कठिन अवस्थामा छ । अझै पनि राज्यले हाम्रा कुरा सुनेन भने व्यवसाय अझै खस्किनेवाला छ,’ पूर्व अध्यक्ष राणाले प्रश्न गर्दै भनिन्, ‘अहिले उत्पादन ५० प्रतिशत मात्रै छ । त्यसमा पनि उपभोक्ता छैनन् । एअरपोर्टमा गएर हेर्ने हो भने दैनिक २७/२८ सय युवाहरु विदेश गइरहेका छन् । कलेजमा पढ्ने विद्यार्थीहरू छैनन् । अनि कसरी सुध्रिन्छ अर्थतन्त्र ?’
मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले निजी क्षेत्रका कुराहरू सुनेर अघि बढ्नुपर्ने उनको भनाइ छ । कुरा मात्रै गरेर देशको अर्थतन्त्रमा सुधार नआउने धारणा व्यक्त गर्दै उनले पर्यटन, ऊर्जा र सूचना प्रविधि (आईटी) क्षेत्रको सुधारका लागि राज्यले विशेष योजना अघि सार्नुपर्ने बताएकी छिन् ।
कार्यक्रमलाई महासंघका पूर्व वरिष्ठ उपाध्यक्षद्वय भाष्कर राज राजकर्णिकार र किशोर कुमार प्रधान, लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा, आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख श्रीधर टण्डनलगायतले सम्बोधन गरेका थिए ।
वाणिज्य संघका अध्यक्ष विनील केसीको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव केशव केसीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रुपेश शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
FACEBOOK COMMENTS