काठमाडौं । काठमाडौंमा सञ्चालित दुईवटा ब्युटी क्लिनिकमा छापा मारिएको छ ।
नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ र डम्र्याटोलोजी सोसाइटीको संयुक्त टोलीले काठमाडौंमा अवस्थित जेनी ब्युटी सैलुन एण्ड ट्रेनिङ सेन्टर र कोजी क्लिनिक अफ कस्मेटिक सर्जरीमा छापा मारेको हो ।
चिकित्सकीय अभ्यासका लागि अनुमति पत्र (लाइसेन्स) नलिएका कारण ती दुई ब्युटी क्लिनिकमा छापा मारिएको हो । उनीहरूले लाइसेन्सबिनाका व्यक्तिहरूको नामको अगाडि ‘डाक्टर’ लेखेर सेवाग्राहीलाई सेवा दिँदै आएको बताइएको छ ।
छापा मार्न गएको टोलीका अनुसार कोजी क्लिनिककी रेखा थापालेसमेत आफ्नो नामको अगाडि डाक्टर लेखेको तर सोबमोजिमको कागजात उपलब्ध गराउन सकेकी छैनन् । तर, उनले जारी गरेको विभिन्न प्रमाण पत्रहरूमा भने ‘डाक्टर’ उल्लेख गरेको पाइएको छ ।
छापा मार्ने क्रममा ती दुई संस्थाबाट विभिन्न प्रकारका कागजातहरू जफत गरी सञ्चालकहरूलाई नेपाल मेडिकल काउन्सिलमा उपस्थित हुन निर्देशा दिइएको छ । सञ्चालकहरूमाथि आवश्यक छानविन गर्न काउन्सिलले गृह प्रशासनलाई जिम्मा लगाउने पनि बताएको छ ।
छापा मार्न नेपाल मेडिकल काउन्सिलका तर्फबाट सदस्य डा. रुपक घिमिरे, नेपाल मेडिकल एसोसिएशनका तर्फबाट महासचिव डा. सञ्जीव तिवारी र डम्र्याटोलोजी सोसाइटीका तर्फबाट मनिषा सिंह र डा. मोहन भुषाल गएका थिए ।
यसरी ‘नक्कली डाक्टर’ लेखेर सेवाग्राहीलाई सेवा प्रवाह गर्दा समाजमा भ्रम, जोखिम र असुरक्षा सृजना हुने खतरा बढाएको छ ।
FACEBOOK COMMENTS