काठमाडौं । पछिल्लो समय जन्मदिन, पास्नी, ब्रतबन्ध, विवाह र विवाह उत्सवलगायत विशेष अवसरहरूमा जीवन बीमा पोलिसी उपहार दिने चलन बढ्दो छ ।
यसै क्रममा दोलखाको बिगु गाउँपालिका–५ चिलंखा घर भइ हाल काठमाडौंमा बसोबास गर्दै आएका ज्योति जीसी र उनको परिवारले भतिजीको जन्म दिनमा जीवन बीमा पोलिसी उपहार दिएका छन् । उनीहरूले आफ्नी तीन वर्षीया भतिजी निहारिका अर्याललाई हिमालयन लाइफ इन्स्योरेन्सको बीमालेख उपहार दिएका हुन् ।
जीसी परिवारले अर्यालका लागि तीन लाख रुपैयाँ बीमाङ्कको २० वर्षे जीवन बीमा योजना खरिद गरी उपहारस्वरुप दिएका हुन् । यस्तो उपहारले माया प्रकट गर्नेमात्र नभइ परिवारमा भविष्यप्रतिको जिम्मेवारीसमेत बोध हुने उनको भनाइ छ ।
‘यो उपहारमा बीमाङ्क रकम न्यून छ, तर यसले सिकाउने अनिवार्य बचतको बानी, आर्थिक सुरक्षाको सुनिश्चितता र दीर्घकालीन वित्तीय योजनाको दृष्टिकोण औधि बहुमूल्य छ,’ पत्रकार समेत रहेका जीसीले भने, ‘जीवन बीमा केवल मृत्युपछिको राहतका लागि होइन, दीर्घकालीन वित्तीय योजना र पारिवारिक आर्थिक सुरक्षाका लागि अत्यन्तै आवश्यक र महत्वपूर्ण छ ।’
जीवन बीमाले जोखिम बहन गर्नाका साथै कमाएको केही अंश फोर्सफुल्ली बचतसमेत हुने हुँदा यसले भविष्यमा आफ्ना बालबालिकाको उच्च शिक्षा, विवाह, ब्रतबन्ध, वैदेशिक यात्रा, औषधोपचार र परिवारमा आइपर्ने कुनै पनि जटिल परिस्थितिमा महत्त्वपूर्ण योगदान गर्ने उनको भनाइ छ । हेर्दा सामान्य र सानो लाग्ने पोलिसीहरूलेसमेत समयक्रममा ठूलो काम गर्ने विश्वास जीसीको छ ।
‘पोलिसीमा उल्लेखित बीमाङ्क रकम सानो भए पनि यो उपहार महङ्गैभित्र पर्छ,’ जीसीले भने, ‘किनकी यो उपहारले आर्थिक सुरक्षा र जिम्मेवारीको महत्त्वपूर्ण सन्देश दिन्छ ।’ पैसा कमाएर मात्र जीव सुरक्षित नहुने भन्दै उनले कमाएको पैसालाई जति सकिन्छ बचत गर्नसक्दा मात्रै भविष्य सुरक्षित हुने उनको भनाइ छ । त्यसकारण कमाइको कम्तिमा १० प्रतिशत रकम हरेक महिना बचत गर्ने बानी बसाल्न जरुरी रहेको उनले सुझाए ।
जीसीले निहारिकाका लागि बीमा पोलिसी खरिद गर्न र उपहार दिन उत्साहित गर्ने हिमालयन लाइफ इन्स्योरेन्स जोरपाटी शाखाका अभिकर्ता गोकुल थापा र शाखा प्रमुख गणेश लामिछानेप्रति आभार व्यक्त गरे ।
उपहार ग्रहण गर्दै निहारिकाकी आमा सुस्मिता अर्यालले निकै अनौठो उपहार छोरीलाई प्राप्त भएकोमा खुसी व्यक्त गरिन् । ‘ज्योति दाइले दिनुभएको यो उपहारप्रति हामी आभारी छौँ,’ अर्यालले भनिन्, ‘यो उपहार मात्र नभइ हाम्री निहारिकाको उज्ज्वल भविष्यप्रतिको लगानीकारूपमा बुझेका छौँ । यसलाई निरन्तरता दिन आजैदेखि बचत गर्न थाल्नेछौँ । चाडवाडहरूमा निहारिकाले प्राप्त गर्ने दक्षिणाहरू पनि हामी यसैमा लगानी गर्छौँ ।’
FACEBOOK COMMENTS