काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गणतन्त्र दिवसका अवसरमा एमालेले आयोजना गर्न लागेको गणतन्त्र उत्सव कसैसँग भिड्नका लागि नभएको स्पष्ट पारेका छन् ।
नेकपा एमाले बागमती सम्पर्क कमिटीको विस्तारित बैठकलाई आज च्यासलमा सम्बोधन गर्दै गणतन्त्र दिवसलाई विशेष र स्मरणीय बनाउन आयोजना आयोजना गर्न लागिएको कार्यक्रम कसैसँग भिड्नका लागि नभएको स्पष्ट गरेका हुन् ।
राजावादी आन्दोलन प्रभावित पार्न एमालेले कार्यक्रम आयोजना गरेको चर्चा भइरहेका बेला उपमहासचिव ज्ञवालीले भने, ‘हाम्रो कार्यक्रम कसैसँग भिड्नका लागि होइन, विशुद्ध गणतन्त्र दिवस मनाउनका लागि मात्रै हो ।’
हरेक वर्ष एमालेले लोकतन्त्र, गणतन्त्र र संविधान दिवसलाई विशेषरूपमा मनाउँदै आएको र जेठ १५ गते भृकुटीमण्डपमा आयोजना हुने कार्यक्रम त्यसैको निरन्तरता भएको उनको भनाइ छ । एमालेले काठमाडौं उपत्यकामा भृकुटीमण्डप र उपत्यकाबाहिर देशैभर कार्यक्रम आयोजना गरी गणतन्त्र दिवसलाई विशेषरूपमा मनाउन लागेको उपमहासचिव ज्ञवालीले जानकारी दिए ।
यस्तै, उनले बजारमा हल्ला चलिरहेको जस्तो गणतन्त्र अफ्ठेरोमा नपरेको पनि स्पष्ट गरेका छन् । तर, गणतन्त्रविरुद्ध कसैले धावा बोल्छ भने गणतन्त्रवादी शक्तिहरू मौन बस्न नहुने धारणा उपमहासचिव ज्ञवालीको छ । उनले लोकतन्त्र र राजतन्त्र सँगै जाने र लैजाने अभ्यासहरू यसअघि पनि पटक–पटक भइसकेको र त्यो सफल नभएकाले अब त्यस्तो अभ्यास नदोहोरिने पनि स्पष्ट गरे ।
FACEBOOK COMMENTS