काठमाडौं । त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयबाट भिजिट भिसामार्फत हुने गरेको मानव तस्करीमा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईको बयान सुरू भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घटनामा संलग्नताको आरोप लागेका सहसचिव भट्टराईको गत आइतबारदेखि बयान सुरू गरेको स्रोतले जनाएको छ ।
७ जेठमा पक्राउ परेका उनलाई १८ जेठमा हाजिरी जमानीमा छाडिएको थियो । यसबीच भट्टराईबारे केही प्रमाणसमेत सङ्कलन भएकाले त्यसबारे पनि सोधपुछ भइरहेको अख्तियारका अधिकारीले बताएका छन् ।
गृह मन्त्रालयमा सुरुवा हुनुअघि भट्टराई विमानस्थल अध्यागमनका प्रमुख अधिकृत थिए । अख्तियारमा नियमित बयान दिन जानुपर्ने भएपछि उनी गृह मन्त्रालयमा एक दिन हाजिर भएर बिदामा बसेको बुझिएको छ ।
अख्तियारले उनलाई कार्यालयले दिएको र व्यक्तिगत दुवै फोन नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
यस प्रकरणमा अध्यागमनका अन्य केही कर्मचारीको समेत संलग्नता पुष्टि भएपछि उनीहरूलाई पनि पक्राउ गरिएको छ ।
गृहमन्त्री रमेश लेखकको समेत यसमा नाम जोडिएपछि उनको राजीनामा माग्दै विपक्षी दलहरूले संसद अवरोध गरिरहेका छन् ।
FACEBOOK COMMENTS