काठमाडौं । लायन्स इन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट ३२५ ले ५४ वर्षको नेपाली लायनिज्म इतिहासमा पहिलो पटक महिला नेतृत्व पाएको छ ।
डिस्ट्रिक्ट ३२५ जे को लायन वर्ष २०२४/२५ की गभर्नर तथा मल्टिपल काउन्सिल भाइस चियरपर्सन लायन मिलन थापा आगामी लायन वर्षका लागि मल्टिपल काउन्सिल चियरपर्सनमा निर्विरोध निर्वाचित भएकी छन् । यसको औपचारिक घोषणा भने ७ जुनमा प्रज्ञा–प्रतिष्ठानमा हुने मल्टिपल कन्भेन्सनमा हुनेछ ।
मल्टिपल काउन्सिल चियरपर्सन पदमा मनोनयन दर्ता गर्ने समयसीमाभित्र लायन थापाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन् । लायन वर्ष २०२४/२५ मा उनले आफ्नो कुशल नेतृत्वशैली देखाउँदै डिस्ट्रिक्ट ३२५ जेलाई चर्चामा ल्याएकी छन् । उनको यो सफलतालाई केवल पद प्राप्तिको रूपमा मात्र नभएर परिवर्तन, समावेशी नेतृत्व र समर्पित सेवाको प्रतिनिधित्वको रूपमा हेरिएको छ ।
लायन थापाले लायन्स क्लबमार्फत समाजसेवामा लामो समयदेखि सक्रिय रहँदै महिला सशक्तीकरण, शिक्षा र स्वास्थ्यका क्षेत्रमा विशेष योगदान दिएकी छन् । पहिलो पटक मल्टिपल काउन्सिलले महिला नेतृत्व पाएकोमा नेपालका सबै लायन्स लिडरहरूले खुसी हुँदै उनलाई शुभकामना दिएका छन् ।
मल्टिपल काउन्सिलको सेक्रेटरीमा डिस्ट्रिक्ट ३२५ सीका इलेक्ट गभर्नर लायन बबरजङ्ग थापा र ट्रेजररमा डिस्ट्रिक्ट आरका इलेक्ट गभर्नर लायन नवराज सापकोटा निर्विरोध भएका छन् । भाईस काउन्सिल चियरपर्सनमा भने ३ जनाको उम्मेदवारी परेको छ । उक्त पदमा डिस्ट्रिक्ट एचका इलेक्ट गभर्नर लायन रवीन्द्रबहादुर प्रधान, डिस्ट्रिक्ट जी इलेक्ट गभर्नर लायन विधान जोशी र डिस्ट्रिक्ट एफका इलेक्ट गभर्नर लायन केशरबहादुर भण्डारीले मनोनयन दर्ता गरेका छन् ।
आफू निर्विरोध भएपछि उनले आफ्नो जितले नेपाली लायनिज्ममा नयाँ इतिहास कोरेको र मनदेखि समाजसेवामा सक्रिय सबै लायन्स लिडरहरू विशेषगरी महिलाहरूलाई थप प्रोत्साहन मिलेको बताइन् ।
उनले भनिन् ‘यो जित सम्मानसँगै मलाई लायनिज्ममा प्राप्त ठूलो जिम्मेवारी पनि हो । अब यो नेतृत्वलाई रूपान्तरण र समावेशिताको उदाहरण बनाउनेछु ।’ निर्विरोध निर्वाचित गर्न सहयोग गर्ने सबै अग्रज लायन्स लिडर र १५ वटै डिस्ट्रिक्टका गभर्नरहरुलाई उनले धन्यवाद दिँदै उनले आफ्नो पदीय जिम्मेवारी निर्वाहमा कुनै कमी हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरिन् ।
FACEBOOK COMMENTS