काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मका बीमा क्षेत्रका मुख्यमुख्य तथ्याङ्कको विश्लेषणसहित बीमा प्रतिविम्बको दोस्रो संस्करण सार्वजनिक गरेको छ ।
बीमा क्षेत्रले गत वर्षभर उल्लेखनीय प्रगति हासिल गरेको जानकारी दिइएको छ । यस्तै बीमा शुल्क सङ्कलन, बीमालेख जारी र दाबी भुक्तानीमा सकारात्मक वृद्धि देखाएको छ । यसले देशको आर्थिक विकासमा बीमा क्षेत्रको महत्त्वपूर्ण योगदानलाई उजागर गरेको छ ।
चालु आर्थिक वर्षको गत वैशाख मसान्तसम्ममा जीवन बीमा क्षेत्रले १५ दशमलव ५५ प्रतिशतले वृद्धि हासिल गर्दै एक खर्ब ४० अर्ब ३५ करोड बीमा शुल्क सङ्कलन गरेको छ । कुल बीमा शुल्क सङ्कलन एक खर्ब ७६ अर्ब २२ करोड पुगेको छ । जुन गत वर्षको तुलनामा १४ दशमलव ०३ प्रतिशतले बढी हो ।
दाबी भुक्तानीतर्फ जीवन बीमामा दाबी भुक्तानीको सङ्ख्या दुई लाख १८ हजार ९५१ रहेको छ । जसअन्तर्गत ४८ अर्ब ९५ करोड भुक्तानी भएको छ । गत आवको वैशाख मसान्तसम्मको तुलनामा दाबी भुक्तानी सङ्ख्या र रकममा केही कमी आएको देखिन्छ ।
साथै, ५३ हजार ४८१ वटा दाबीअन्तर्गत चार अर्ब ४५ करोड भुक्तानी हुन बाँकी छ । निर्जीवन बीमातर्फ गत वैशाख मसान्तसम्म कुल एक लाख १३ हजार ९३७ वटा दाबी भुक्तानी भएको छ । जसअन्तर्गत १२ अर्ब ५८ करोड भुक्तानी भएको छभने ३० अर्ब ३३ करोड बराबरको कुल एक लाख पाँच हजार ६२० वटा दाबी सङ्ख्या भुत्तानी हुन बाँकी छ ।
गत वैशाख मसान्तसम्म ८८ हजार ६३५ बीमालेख समर्पण भएका छन् । जसअन्तर्गत रु १२ अर्ब २७ करोड समर्पण रकम छ । त्यसैगरी, १२ लाख ५४ हजार ४७८ बीमालेख व्यतित भएका छन्, व्यतित बीमालेखको रकम ३६ अर्ब ८६ करोड छ । बीमा शुल्क सङ्कलन, बीमालेख जारी र कर्मचारी सङ्ख्यामा वृद्धिले यस क्षेत्रको विस्तार र जनताको विश्वास बढाएको छ । तर, दाबी भुक्तानीमा रहेको ढिलाइ र केही प्रदेशमा सेवा पुग्न नसक्ने चुनौती अझै पनि रहेको प्राधिकरणको दाबी छ ।
FACEBOOK COMMENTS