पर्सा । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ र पटेर्वासुगौली गाउँपालिका –१ मा सडकको शिलन्यास गरेका छन् ।
मधेस प्रदेश सरकारको ९० लाखको बजेटबाट सखुवा प्रसौनी गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिकामा निर्माण हुने सडक ढलानको शिलन्याससँगै मन्त्री गुप्ताले पटेर्वासुगौली गाउँपालिका–४ मा निर्माण हुने खेलकुद मैदानको पनि आज एक कार्यक्रमका बीच शिलन्यास गरेका हुन् ।
सो अवसरमा बोल्दै मन्त्री गुप्ताले सरकारले तराई–मधेसका आदिवासी, जनजाति, मधेसी र सिमान्तकृत समुदायको चौतर्फी विकासका लागि तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत विकासको लहर सिर्जना गरेको बताए । साथै, सो कार्यक्रम आफ्नो मन्त्रालयमार्फत सञ्चालन भइरहेको जानकारी दिँदै उनले भूमिहीन र विपन्न बर्गका समुदायको जीवनस्तर उकास्न र तराई–मधेसको समृद्धिका लागि सरकार लागिपरेको बताए ।
‘इमान्दारिताका साथ काम गरे भने अर्को वर्ष थप बजेट उपलब्ध गराउने छु तर तलमाथि भए फेरि–फेरि आश नगर्नुहोला,’ मन्त्री गुप्ताले भने ।
उनले तराई–मधेस सम्मृद्धि कार्यक्रम मधेसका विभिन्न जिल्लामा सञ्चालन भइरहेको जानकारी दिँदै सो कार्यक्रममार्फत सडक, विद्यालय, स्वास्थ्यचौकी, पुल कल्भर्ट, समुम्बासी सामुहिक आवास, विभिन्न जातजातिको संस्कृति संरक्षणका लागि सामुदायिक भवनलगायतका संरचनाहरू निर्माण हुने बताए ।
तराई–मधेसमा सीमापारिको छिमेकीभन्दा बढी वारि नेपालमा विकासको आफ्नो चाहना रहेको बताउँदै त्यसका लागि आफू निरन्तर लागिपरेको बताए । मन्त्रिपरिषदमा मधेसका विभिन्न क्षेत्रलाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्ने योजना चलिरहेकाले उक्त योजना सफल पार्न आफू लागिपरेको बताए ।
नेकपा (एमाले) का केन्द्रीय सदस्यसमेत रहेका मन्त्री गुप्ताले सबैले आ–आफ्नो जिम्मेवारी बुझेर काम गर्ने हो भने समृद्धि आउन समय नलाग्ने बताउँदै सबैले जिम्मेवारी बोध गर्नुपर्नेमा जोड दिए ।
एक अर्को प्रसङ्गमा मन्त्री गुप्ताले रातदिन काम चलिरहेको जानकारी दिँदै सबै तहमा कर्मचारी व्यवस्थापन भइसक्ने दाबी गरे ।
FACEBOOK COMMENTS