काठमाडौं । इजरायली सेनाले हमासका गाजा प्रमुख मोहम्मद सिनवारको शव पहिचान गरी फेला पारेको बताएको छ ।
इजरायली डिफेन्स फोर्सेस (आईडीएफ) ले सिनवारको शव आइतबार गाजाको दक्षिणमा रहेको खान युनिसको युरोपेली अस्पतालमुनिको एक सुरुङमा फेला परेको जनाएको हो ।
इजरायली सेनाका अनुसार डीएनए परीक्षण गरेर सिनवारको शव पहिचान गरिएको हो । यद्यपि, हमासले अहिलेसम्म सिनवारको मृत्युको बारेमा सार्वजनिक रूपमा पुष्टि गरेको छैन ।
४९ वर्षीय सिनवारको मृत्यु १३ मेमा भएको एक हवाई हमलामा भएको थियो । हमासले सञ्चालन गरेको सिभिल डिफेन्स एजेन्सीका अनुसार उक्त हमलामा २८ जना मारिएका थिए भने धेरै घाइते भएका थिए ।
आईडीएफले सिन्वारको शवको नजिकै हमासका रफाह ब्रिगेडका कमाण्डर मोहम्मद सबानेहको शव पनि फेला परेको बताएको छ ।
आईडीएफले भनेको छ, ‘सिनवार र सबानेहसँग सम्बन्धित धेरै सामानहरू पनि फेला परेका छन्, साथै केही अन्य खुफिया सूचनाहरू पनि प्राप्त भएका छन्, जुन थप अनुसन्धानका लागि पठाइएको छ ।’
आईडीएफले अरू शवहरू पनि फेला परेको बताउँदै तिनको पहिचान गर्ने काम भइरहेको जनाएको छ ।
FACEBOOK COMMENTS