तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि बिहान ७ बजेदेखि सेवा दिन सुरु गरेको छ ।
कार्यालयमा नयाँ नागरिकता र राष्ट्रिय परिचयपत्र दर्ताका लागि आउने सेवाग्राहीको चाप बढेपछि कार्यालयले शुक्रबारदेखि बिहान ७ देखि ५ बजेसम्म सेवा सुरु गरेको हो ।
बढ्दो गर्मीका कारण सेवाग्राहीलाई सास्ती भएकाले बिहानदेखि सेवा प्रवाह सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिए ।
उनले भने, “सेवा प्रवाहलाई व्यवस्थित गराउन बिहानदेखि सेवा प्रवाह थालिएको छ । अर्को सूचना प्रकाशित नभएसम्मका लागि ७ बजेदेखि सेवा सुरु हुनेछ ।”
कार्यालयमा नागरिकता र राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि सेवाग्राहीको चाप बढ्दै गएको छ । कार्यालयले यसअघि दैनिक एक सय ५० को हाराहारीमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्दै आएको छ ।
FACEBOOK COMMENTS