काठमाडौं । नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई विदाइ तथा नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई स्वागत कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा निवर्तमान गभर्नर अधिकारीले आफ्नो कार्यकालमा बैंकिङ क्षेत्रबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे । उनले कोभिड–१९ महामारीको चुनौतीपूर्ण समयको स्मरण गर्दै, त्यस्तो कठिन अवस्थामा पनि बैंकहरूले देखाएको सफल नेतृत्वका लागि धन्यवाद व्यक्त गर्दै अर्थतन्त्रको स्थायित्वमा पुर्याएको सकारात्मक योगदानको प्रसंशा गरे ।
उनले महामारीपछिको आर्थिक स्थायित्व राष्ट्र बैंकको मात्र उपलब्धि नभई, सम्पूर्ण बैंकिङ क्षेत्रको सहकार्य र साझा प्रयासको परिणाम भएको बताए। निवर्तमान गभर्नर अधिकारीले आफ्नो कार्यकालको अनुभब र सिकाइ साट्दै विगतका केही निर्णयहरू कठिन भए तापनि, ती निर्णयहरू दीर्घकालीन सुधारका लागि आवश्यक भएको बताए ।
नेपालको बैंकिङ क्षेत्रले बिगत को गल्तिहरु बाट सिक्दै भविष्यमा त्यस्ता गल्तीहरू दोहोरिन नदिन तर्फसतर्क रहनुपर्ने बताए । उनले भविष्यमा आवश्यक परेमा बैंकिङ क्षेत्रलाई आफ्नो ज्ञान, अनुभव तथा सल्लाहमार्फत सघाउन आफू सधैं तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरे ।
नव नियुक्त गभर्नर डा। विश्वनाथ पौडेलले पनि नेपालको बैंकिङ क्षेत्रलाइ प्रभावकारी र समग्र अर्थतन्त्रमा स्थायित्वको लागि आफू प्रतिबद्ध रहेको उल्लेख गरे । उनले नेपाल राष्ट्र बैंकको वर्तमान नीति र व्यवस्था जुन प्रभावकारी छन्, तिनीहरूमा कुनै ठूलो परिवर्तन नगरी निरन्तरता दिने र आवश्यक परेको ठाउँमा मात्रै आवश्यक सुधार गर्ने स्पष्ट धारणा राखे ।
गभर्नर पौडेलले आगामी दिनमा बैंकिङ क्षेत्रसँग समन्वय र परामर्शमा आधारित नीति निर्माण गर्ने र नेपाली बैंकिङ क्षेत्रलाई अझ सबल, समावेशी र दीर्घकालीन विकासको दिशामा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसको लागि उहाले सबैको साथ र सहयोगको लागि अनुरोध गरे ।
FACEBOOK COMMENTS