काठमाडौं । नेपालले स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आज नेदरल्याण्ड्सको सामना गर्दै छ । यो खेल नेपाली समयअनुसार साँझ ७:४५ बजेदेखि सुरू हुने छ ।
स्कटल्याण्डमा भइरहेको सिरिजको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याण्ड्सलाई पराजित गरेर विजयी सुरूआत गरेको छ ।
नेपाल र नेदरल्याण्ड्स अहिलेसम्म टी–२० खेलमा १३ पटक आमनेसामने भएका छन् । जसमा नेदरल्याण्ड्स ७ खेलमा विजयी भएको छ भने नेपालले ५ खेल जितेको छ ।
आईसीसीको टी–२० वरीयतामा नेपाल १८औँ स्थानमा छ भने नेदरल्याण्ड्स १४औँ स्थानमा छ ।
२० जुनसम्म हुने त्रिकोणात्मक टी–२० सिरिजमा मङ्गलबार नेपाल र स्कटल्याण्ड, बुधबार स्कटल्याण्ड र नेदरल्याण्ड्स, बिहीबार नेपाल र नेदरल्याण्ड्स तथा शुक्रबार नेपाल र स्कटल्याण्ड खेल्ने तालिका छ ।
यस सिरिजमा खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), अनिल साह, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने, करण केसी, किरणकुमार ठगुन्ना, रूपेश सिंह र लोकेश बम छन् ।
FACEBOOK COMMENTS