धरान । धरान उपमहानगरमा मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाका समर्थकहरूबीच झडपको स्थिति सिर्जना भएको छ ।
मंगलबार मेयर साम्पाङका समर्थकहरूले उपमेयरमाथि हुलहुज्जत गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको हाे ।
तनाव बढ्दै जादा मेयर र उपमेयर बेघाका समर्थकहरू कार्यालय परिसरमा भेला भएर नाराबाजी र धकेला धकेल गरेका थिए । स्थिति तनावपूर्ण बनेपछि ठुलो संख्यामा सुरक्षाकर्मी समेत परिचालन गरिएको थियो ।
धरान–१६ स्थित बहुभाषिक पाठशालामा निर्माण गरिएको ग्याबिन जालीको विषयमा विवाद हुदा तनाव बढेको बताइएको छ ।
मेयर साम्पाङको नेतृत्वमा केही महिना अघि श्रमदानमार्फत उक्त जाली निर्माण गरिएको थियो । तर, निर्माण सकिएपछि साम्पाङले त्यसको नयाँ रि–इस्टिमेट गराएर उपभोक्ता समिति बनाएर नगर कार्यालयमा बिल पेस गरेको आरोप उपमेयर बेघाले लगाएका थिए ।
बेघाले श्रमदानबाट पहिल्यै सम्पन्न कामको भुक्तानी नगरबाट गर्न नमिल्ने भन्दै डोर हाजिरी गरिएको, बाहिरी व्यक्तिलाई उपभोक्ता समितिमा राखिएको र काम पछि समिति बनाइ बिल पेस गरिएको आरोप लगाएका छन् । उता मेयर साम्पाङ भने श्रमदानको पनि मूल्य हुनुपर्ने रेकर्डको लागि लागत लेखिएको तर भुक्तानी नगरिने मंगलबार पत्रकार सम्मेलन गरेर स्पष्ट गरेका थिए ।
मेयरमा स्वतन्त्र विजयी भएका साम्पाङ र माओवादी केन्द्रबाट विजयी भएका उपमेयर बेघा कार्यकालको शुरुमा मिलेर काम गरेपनि पछिल्ला दिनमा असमझदारी बढ्दै गएको र दुवैबीच पटक पटक विवाद हुदै आएको छ ।
FACEBOOK COMMENTS