काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सरकारले सुन तस्करीका विषयमा आँखा चिम्लिएको आरोप लगाएका छन् ।
सुन, हिरा तथा बहुमूल्य रत्नमा लगाइएको विलासिता करको विरोधमा सोमबार काठमाडौंमा आयोजित नेपाल रत्न तथा आभूषण संघको पत्रकार सम्मेलनमा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत दैनिकरूपमा करिब पाँच किलो अवैध सुन भित्रिरहेको दाबी गर्दै त्यस विषयमा सरकारले आँखा चिम्लिएको आरोप लगाएका हुन् ।
‘त्रिभुवन विमानस्थलबाट दैनिक अवैध सुन भित्रिन्छ । मैले गृहमन्त्रीलाई यो विषयमा जानकारी गराएको थिएँ, गृहमन्त्रीले डीआईजीसँग कुरा गर्नुभएको थियो उहाँले त्यो तस्करी भइरहेको कुरा स्वीकार गर्नुभएको थियो,’ अध्यक्ष महर्जनले भने ।
उनले वैधानिकरूपमा आयात गरिएको सुन नै व्यवसायीले नकिनिरहेको चर्चा गर्दै उनले विभागले सङ्कलन गरेको तथ्याङ्कमा सरकारले एक्सन लिनुपर्ने बताए । ‘वाणिज्य विभागको तथ्याङ्कअनुसार नेपालमा दैनिक करिब १०० किलो सुन आयात हुने गरेको छ, तर राष्ट्र बैंकमार्फत सुनचाँदी व्यवसायीहरूले दैनिक १० किलो पनि खरिद नगरेको पाइन्छ,’ अध्यक्ष महर्जनले भने, ‘या त वाणिज्य विभागको तथ्याङ्क गलत हो भनेर स्पष्ट पार्नुपर्छ, होइन भने सरकारले यो तथ्याङ्कलाई गम्भीरतापूर्वक लिएर एक्सनमा जानुपर्दछ ।’
उनले राष्ट्र बैंकलाई यथार्थ तथ्याङ्क सार्वजनिक गर्न र सुन तस्करी नियन्त्रणमा राज्य गम्भीर भएर लाग्नसमेत आग्रह गरेका छन् । सरकारको निष्क्रियता र बेवास्ताका कारण तस्करी मौलाउँदै गएको भन्दै महर्जनले कडा निगरानी र पारदर्शिता आवश्यक रहेको बताए ।
उनले आगामी आर्थिक वर्ष २०८२/८३ मा लागू गरिएको सुन, हिरा र बहुमूल्य रत्नमा लगाइएको विलासिता करलाई असान्दर्भिक र जबर्जस्ती जनतामा लादिएको करको रूपमा व्याख्या गर्दै यस्तो करले सुशासनको प्रत्याभूति गर्न नसक्ने तर्क गरे । ‘यो कर प्रणाली गणतान्त्रिक मूल्य–मान्यताभित्र पर्दैन,’ उनले भने ।
हेर्नुहोस् भिडिओ–
FACEBOOK COMMENTS