काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो नभएको बताएका छन् ।
ऊर्जा मन्त्रालयमा आज भएको उच्च व्यवस्थापन समूह (एसएमटि) को बैठकमा मन्त्री खड्काले चालु आवको ११ महिना बितिसक्दा पनि मन्त्रालय र मातहतका निकायबाट चित्तबुझ्दो काम हुन नसकेको बताए ।
“मन्त्रालय अन्तरगतको प्रगति कम देखिँदा काम गर्ने कर्मचारी र काम नगर्ने कर्मचारी एउटै डालोमा परेको देखियो, हामी कर्मचारीलाई स्थायी सरकार भन्छौँ, तर व्यवहारमा त्यो स्थायित्व देखिँदैन, कामलाई गम्भीरताका साथ लिनुहोस्, लक्ष्य प्राप्तिका लागि पुरस्कार र दण्डको व्यवस्था गरौँ,” मन्त्री खड्काले भने ।
पूर्वाधारसँग प्रत्यक्ष्य जोडिएको र टड्कारो रुपमा प्रगति भएको छ की छैन भनेर देखिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय भएकाले प्रगति चित्त बुझाउने ठाउँ नभएको उनले उल्लेख गरे । मन्त्रालय र त्यसअन्तरगतका निकायमा देखिएको कामको ढिलासुस्तीबारे सचिवहरुले जानकारी लिएर ढिलासुस्ती अन्त्य गर्न लाग्नुपर्ने मन्त्री खड्काको भनाइ थियो ।
“आफ्नो काम के हो, के उपलब्धि हासिल गर्न सकिन्छ, त्यसतर्फ सबै लाग्नुपर्छ, खर्च गर्न सकिँदैन भने बजेट किन माग्ने, के का लागि माग्ने ?,” उनले प्रश्न गरे । मन्त्रालय मातहत निकायको प्रमुख बन्न हानथाप गर्ने तर जिम्मेवारी पूरा नगर्ने प्रवृत्ति देखिएको भन्दै उनले चिन्ता व्यक्त गरे ।
मन्त्री खड्काले मन्त्रालय र यसअन्तरगतका निकायमा रहेको बेरुजुलाई समयमै फछ्यौट गर्न कर्मचारीलाई निर्देशन दिए । मन्त्रालय अन्तरगतका निकायमा अर्थको तालमेल हुन नसकेको उनको भनाइ थियो ।
ऊर्जा राज्यमन्त्री खमबहादुर गर्बुजा उपस्थित रहेको उक्त बैठकमा ऊर्जा सचिव सुरेश आचार्यले आर्थिक वर्ष अन्त्य हुन लाग्दासमेत मन्त्रालय र मन्त्रालय अन्तरगतका निकायमा चित्तबुझ्दो काम हुन नसकेको बताए ।
बैठकमा मन्त्रालय र मातहतका निकायको चालु आवको जेठ मसान्तसम्मको भौतिक तथा वित्तीय प्रगति विवरण मन्त्री खड्कासमक्ष प्रस्तुत गरिएको थियो ।
FACEBOOK COMMENTS