चितवन । लामो समयदेखि शिक्षा तथा राजनीतिमा सक्रिय नेता तथा नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषदका सदस्य भरत प्रसाद साह नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
उनलाई आज चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीका लगाई पार्टीमा स्वागत गरेका छन् ।
बारा जिल्लाको कलैया उपमहानगरपालिका–५ निवासी साहले आफ्नो राजनीतिक जीवनको सुरूवात २०३५ सालमा अखिल (पाँचौं) का बारा जिल्ला अध्यक्षको रूपमा गरेका थिए । त्यसपछि २०३७ र २०३८ सालमा ठाकुरराम कलेजमा दुई कार्यकाल स्ववियु सदस्यमा निर्वाचित भई विद्यार्थी राजनीतिमा सक्रिय सहभागिता जनाएका थिए ।
२०५४ देखि २०५९ सालसम्म एमाले शिक्षक संगठन बारा जिल्ला अध्यक्षका रूपमा नेतृत्व सम्हालेका साह २०६१ सालमा नेपाल शिक्षक युनियन बारा जिल्ला अध्यक्ष र २०७१ सालतिर केन्द्रीय अध्यक्ष बनेका थिए । शिक्षा क्षेत्रको सङ्गठनात्मक नेतृत्वमा उनको उल्लेखनीय योगदान रहदै आएको छ ।
राजनीतिक रूपमा स्थिर र अनुभवसञ्चित नेताका रूपमा चिनिनु भएका साह हालसम्म नेकपा (एमाले) को केन्द्रीय सल्लाहकार परिषद सदस्यको रूपमा क्रियाशील थिए । पार्टी नेतृत्व केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले माओवादी केन्द्र रोजेको बताएका छन् ।
पार्टी प्रवेशपछि प्रचण्डले साहको आगमनले पार्टी अझ बलियो हुने विश्वास व्यक्त गरेका छन् ।
FACEBOOK COMMENTS