काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई लक्षित गर्दै स्वास्थ्य सेवा क्षेत्रको एक अग्रणी संस्था आमा हस्पिटलसँग सहकार्य गरेको छ ।
यो सहकार्यपछि कम्पनीसँग आबद्ध व्यक्तिहरूले हस्पिटलमा विभिन्न सेवा उपभोग गर्दा ५० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।
सहकार्यअनुसार, क्याबिन बेडमा ५० प्रतिशत , जनरल बेडमा ३०प्रतिशत, अन्य अस्पताल सेवामा २०प्रतिशत छुटको व्यवस्था गरिएको छ भने आकस्मिक एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध हुनेछ । साथै, हेल्थ चेकअप प्याकेजमा ४०५ सम्मको विशेष छुट प्रदान गरिनेछ ।
बीमितहरूले आईएमई लाइफको मोबाइल एपमा रहेको ‘प्रिभिलेज कार्ड’ देखाएर छुट सुविधा लिन सक्नेछन् । त्यस्तै, अभिकर्ता तथा कर्मचारीहरूले कम्पनीद्वारा जारी आधिकारिक परिचयपत्र प्रस्तुत गरी छुट सुविधा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
कम्पनीले यस सहकार्यलाई आफ्नो दीर्घकालीन दृष्टिकोणअनुरूप सेवा विस्तार र लाभदायी सम्बन्धको अङ्गको रूपमा लिएको जनाएको छ । बीमा सेवा केवल जोखिम व्यवस्थापनको माध्यम मात्रै नभई जीवनस्तर सुधारका लागि प्रत्यक्ष सेवा र सहुलियतसँग जोडिनु आवश्यक रहेको कम्पनीको धारणा छ ।
आईएमई लाइफ इन्स्योरेन्सले भविष्यमा पनि यस्ता पेशागत सहकार्यहरूलाई निरन्तरता दिँदै आफ्ना बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई थप प्रभावकारी, गुणस्तरीय तथा ऊर्जा दिने सेवा उपलब्ध गराउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।
कम्पनीको मुख्य कार्यालय काठमाडौंको लैनचौरस्थित हाथवे कम्प्लेक्समा रहेको छ । हाल कम्पनीले डिजिटल र भौतिक माध्यममार्फत देशैभर व्यापक बीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
FACEBOOK COMMENTS