काठमाडौं । वैदेशिक रोजगारीको आकर्षण देखाई लाखौं रुपैयाँ ठगी गर्ने एक व्यक्ति काठमाडौंमा पक्राउ परेका छन् ।
सिन्धुलीको ध्याङलेख गाउँपालिका–३ घर भई हाल नागार्जुन नगरपालिका बसोबास गर्दै आएका ४२ वर्षीय सुवर्ण कुमार बललाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
सुवर्णले आफूले क्रोएसियामा रोजगारीको व्यवस्था गरिदिने भन्दै ४ जना पीडितबाट प्रति व्यक्ति गरी जम्मा ३ लाख ५० हजार रुपैयाँ संकलन गरेका थिए। रकम लिएपछि उनी सम्पर्कविहीन बनेका थिए। पीडितहरूले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा उजुरी दिएपछि अनुसन्धान सुरु गरिएको थियो ।
प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका–१५ स्थित क्षेत्रबाट नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानपछि उनलाई आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा बुझाइएको छ ।
प्रहरीले विदेश पठाउने नाममा हुने ठगीप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गर्दै यस्ता कार्यमा संलग्नलाई कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ ।
FACEBOOK COMMENTS