काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको महाराष्ट्र प्रदेशस्थित थाने कश्मिरा रोड घर भएका ५६ वर्षीय गोपाल प्रसाद खडानन्द गौली छन् ।
उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोबाट खटिएको टोलीले हिजो आइतबार काठमाडौंको तिलगङ्गाबाट पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीका अनुसार गौलीले कामको सिलसिलामा चिनजान भएकी एक महिलाको चरित्रहत्या गरेको आरोप छ ।
सामाजिक सञ्जाल फेसबुकमा साथी बनेका उनीहरूबीच म्यासेन्जरमा कुराकानी हुने गरेको थियो भने प्रत्यक्ष भेटघाट पनि भएको थियो । भेटका क्रममा गौलीले पीडित महिलासँग खिचेका तस्बिर युट्युबमा प्रसारण गरी चरित्रहत्या गरेको प्राविधिक विश्लेषण र अनुसन्धानबाट खुलेको हो ।
उनीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
FACEBOOK COMMENTS