काठमाडौं । नेपाल प्रहरीले प्राविधिक समूहअन्तर्गत विभिन्न पदमा आवेदन दिएका उम्मेदवारलाई आवश्यक कागजात तथा विवरण अनिवार्य रूपमा अद्यावधिक गर्न आग्रह गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागअन्तर्गत वृत्तिविकास महाशाखाको भर्ती छनोट शाखाले सूचना जारी गर्दै प्रहरी नायब उपरीक्षक (डीएसपी), प्रहरी निरीक्षक (इन्सपेक्टर), प्रहरी नायब निरीक्षक (सई) तथा प्रहरी सहायक निरीक्षक (असई) पदका लागि खुला प्रतियोगितामार्फत आवेदन दिएका उम्मेदवारलाई अनलाइन रिक्रुटमेन्ट म्यानेजमेन्ट सिस्टम (ओआरएमएस) प्रणालीमा विवरण अद्यावधिक गर्न निर्देशन दिएको हो ।
सूचनाअनुसार, यसअघि प्रकाशित विज्ञापनबमोजिम अनलाइनमार्फत आवेदन दिएका तर आवश्यक कागजात नसमेटिएका कारण आवेदन स्वीकृत हुन बाँकी रहेका उम्मेदवारहरूले वैशाख ३१ गते साँझ ५ बजाभित्र आफ्ना सम्पूर्ण कागजात तथा विवरण ओआरएमएस प्रणालीमा अद्यावधिक गर्नुपर्ने छ ।
निर्धारित समयभित्र आवश्यक कागजात अद्यावधिक नगरे आवेदन स्वत: रद्द हुने चेतावनी नेपाल प्रहरीले दिएको छ ।