काठमाडौं । कलाकार दीपकराज गिरीले गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानले सामाजिक सञ्जालमा आफूहरूविरुद्ध नराम्रो कमेण्ट गर्नेलाई सामाजिक सञ्जालमै उदाङ्गो पार्ने अभियान चलाएकोमा प्रशंसा गरेका छन् ।
गिरीले आफूमाथि खनिने सामाजिक सञ्जालका फुर्सदिला गाली सम्राटहरूलाई सामाजिक सञ्जालमै उनीहरूका हर्कत उदाङ्गो पार्ने अभियान प्रशंसनीय रहेको बताएका हुन् ।
साथै, गिरीले सामाजिक सञ्जाल अरूलाई नैतिकता सिकाउने, गालीगलौज गर्ने, अभद्रता देखाउने, अरूको चरित्रमाथि औँला ठड्याउने थलो बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
उनले भनेका छन्–
यी दुईटै गायिका मलाई मन पर्ने गायिका हुन् । त्योमध्ये पनि समीक्षाको त म गायकीको मात्रै होइन सुरूदेखि उनको साहसको पनि प्रशंसक हुँ । सानो उमेरमा नै उनीमाथि जुन बज्रपात पर्यो त्यो ठाउँमा जोकोही भए पनि टिक्न सक्दैनथ्यो होला तर उनले परिस्थितिसँग घुँडा टेकिनन् र लड्दै आइन्, त्यसकै फलस्वरूप आज यहाँ पुगिन् ।
सामाजिक सञ्जाल कस्तो छ ?
आफूले समाजको लागि, परिवारको लागि, राष्ट्रको लागि दुई कौडीको काम नगर्ने, तर जो काम गर्नेहरू छन् तिनीहरूलाई नैतिकता सिकाउने, गालीगलौज गर्ने, तँ यस्तो, तँ उस्तो भनेर अभद्रता देखाउने, चरित्रमाथि औँला उठाउने– यस्तै चलिआएको छ । पैसा कमाएकाहरू सबै भ्रष्टाचारी, नाम कमाएका कलाकार, पेसाकर्मी सबै नैतिकताहीन, चरित्र खराब, देशमा सबै अज्ञानी, आफू मात्रै साधुसन्त ज्ञानी, आफूले समाज र राष्ट्रको लागि सिन्को नभाँच्ने , देशै खतम, नेतै खतम, केही गर्न सकिन्न यहाँ भन्ने, जतिबेला फ्रस्ट्रेटेड कुरा गर्ने, अनि गाउँदेखि आएर सङ्घर्ष गरेर, भोकभोकै बसेर, हिम्मत नहारेर आफूलाई स्थापित गरेकाहरूलाई चाहिँ गालीगलौज गर्यो, अनेकथरी लाञ्छना लगायो बस्यो !
यो ठाउँमा जसले जति गाली गर्न सक्यो त्यो हिरो, चुपचाप आफ्नो काम गरेर खाने पात्रहरू चाहिँ खलनायक ? व्यक्तिगत जीवनमा कसको तलमाथि हुन्न ? को चाहन्छ खराब होस्, तर भइदिन सक्छ कहिलेकाहीँ ! को छ यहाँ कमजोरीविहीन मान्छे ? एउटै पेसामा भएका प्रतिस्पर्धीहरूकै संग्लग्नतामा पनि यस्ता गाली किन्ने र बेच्ने काम भइरहेको अवस्था छ ! आफ्ना प्रतिस्पर्धीलाई कामले जित्न सकिन्न, गाली गरेर भए पनि हतोत्साहित बनाउनुपर्छ भन्ने छ !
यस्ता उच्छृङ्खलताविरुद्ध साइबरमा गयो कानुन नै कमजोर, ठूला नेतालाई गाली गर्यो भने समातेर तु कारबाही सुरू गरिहाल्ने तर अन्य मानिसहरूलाई गरिएको गालीगलौजको त रिपोर्ट भए पनि कसले सुन्ने ? सुने पनि वर्षौँ लाग्ने, त्यसकै पछि लागिरहने फुर्सद कहाँ पाउनु फेरि ?
यस्तो जटिल परिस्थितिमा आफूमाथि खनिने त्यस्ता सामाजिक सञ्जालका फुर्सदिला गाली सम्राटहरूलाई तिमीहरूले सामाजिक सञ्जालमै उनीहरूका हर्कत उदाङ्गो पार्ने जुन अभियान चलायौ त्यो एकदमै प्रशंसनीय छ । दुवै जनालाई शुभकामना !
FACEBOOK COMMENTS