काठमाडौं । नेपाल राष्ट्र बैंक आर्थिक अनुसधन्धान विभागका कार्यकारी निर्देशक डा. रामशरण खरेलले आगामी मौद्रिक नीति सवै पक्षलाई स्वीकार्य हुने गरी ल्याउने तयारी रहेको बताएका छन् ।
आईबीएन मिडिया एण्ड रिसर्च प्रालिले आज सोमबार राजधानीमा आयोजना गरेको प्रि–मनिटोरी पोलिसी विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. खरेलले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंकले राय सुझाव सङ्कल गरिरहेकाले ती नै सुझावहरुलाई सम्बोधन हुने गरी मौद्रिक नीति ल्याउने तयारी भइरहेको बताएका हुन् ।
कार्यक्रममा सीए अनल राज भट्टराईले मौद्रिक नीतिबारे भएका अध्ययन र तथ्याङ्क समेटिएको कार्यपत्र प्रस्तु गर्दै जीडीपीमा योगदान गरेका इन्डेक्सहरूको रिभ्यु गर्नुपर्ने बेला आएको बताए । अस्थिर राजनीति र सरकारका कारण मौद्रिक नीतिमा असर पर्दै आएकोले आगामी दिनमा मौद्रिक नीतिलाई प्रभावकारी बनाउन केन्द्रीय बैंकले सबै पक्षको राय सुझावलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले आईएमएफले दिएका सुझावलाई मान्नै पर्ने राष्ट्र बैंकको मानेर अगाडि बढेको भए पनि देशको हितमा हुने गरी मात्र प्रयोग गर्नुपर्नेमा जोड दिए ।
सरकारले बजेटमा समावेश गरेर फिर्ता लिएको टेक एण्ड पे को जस्तो प्रावधान राखेर मौद्रिक नीति आउन नहुने जिकिर गर्दै पूर्वकार्यकारी निर्देशक थापाले दीर्घकालीन सोचका साथ आगामी मौद्रिक नीति सार्वजनिक हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठले नेपालमा स्थायी रुपमा सञ्चालन हुने निकायहरू राष्ट्र बैंक भएकोले पाँच वर्षका लागि नियुक्त हुने गभर्नरले ल्याउने मौद्रिक नीति पनि पाँच वर्षको लागि तय हुने गरी नीति बनाउन सुझाव दिए ।
त्यसैगरी छिमेक लघुवित्त माइक्रो फाइनान्सका अध्यक्ष राचन्द्र जोशीले मौद्रिक नीतिले समग्र अर्थतन्लाई प्रभाव पार्ने भएकाले निजी क्षेत्रले दिएका सुझावलाई सम्बोधन हुने गरी आगामी मौद्रिक नीति आउनुपर्नेमा जोड दिए । कार्यक्रम आईबीएन मिडिया एण्ड रिसर्च प्रालिका अध्यक्ष हृदयराज गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो ।
FACEBOOK COMMENTS