काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको ‘बिग ब्युटिफुल बिल’ सिनेटबाट पारित भएको छ ।
सिनेटमा भएको मतदानमा ५०–५० मत परेपछि उपराष्ट्रपति जेडी भान्सले निर्णायक मतदान गरेर बिल पारित भएको सीएनएनले उल्लेख गरेको छ ।
सिनेटबाट पारित भएको यो बिल अब तल्लो सदनमा जाने छ । तल्लो सदनमा यस बिलको चर्को विरोध भइरहेको छ । यस बिलको पहिलेको संस्करणलाई तल्लो सदनले केवल एक मतले पारित गरेको थियो ।
ट्रम्पले रिपब्लिकन–नियन्त्रित कांग्रेसलाई कानुनमा हस्ताक्षर गर्न विधेयकको अन्तिम संस्करण पठाउन जुलाई ४ सम्मको समयसीमा दिएका छन् ।
मिडिया रिपोर्टका अनुसार तल्लो सदनमा रिपब्लिकन पार्टीको बहुमत भए पनि यस बिलमा सिनेटले गरेका परिवर्तनप्रति रिपब्लिकन सांसदहरू असन्तुष्ट छन् ।
त्यस्तै, यस बिलको विरोधमा विश्वकै धनी व्यापारी एलन मस्क पनि लागिरहेका छन् । मस्कले खुला रूपमा यस बिलको समर्थन गर्ने सांसदहरूलाई आगामी निर्वाचनमा हराइदिने चेतावनी दिएका छन् । उनले यस बिलले अमेरिकालाई ‘बैंक करप्ट’ बनाउने दाबी गरेका छन् ।
यस बिलले इलेक्ट्रोनिक सवारीसाधनको उत्पादनमा अमेरिकी सरकारले गर्दै आएको सहयोगमा ठूलो कटौती गरेको छ र यसको सिधा असर मस्कको टेस्ला कम्पनीलाई पर्ने बताइएको छ ।
FACEBOOK COMMENTS