काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बहुचर्चित ‘बिग ब्युटिफुल बिल’ अर्थात कर र खर्च सम्बन्धि विधेयक अमेरिकी संसदको तल्लो सदनले पारित गरेको छ ।
विधेयकको पक्षमा २१८ सांसदले मतदान गरे भने विपक्षमा २१४ जनाले मतदान गरेका थिए ।
ट्रम्पको आफ्नै पार्टीका दुई सांसद थोमस मासी र ब्रायन फिट्जप्याट्रिकले यस विधेयकको विपक्षमा मतदान गरेका थिए । यस बिलको विषयमा ट्रम्प र एलन मस्क आमने सामने भएका थिए ।
ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले ट्रम्पले अमेरिकाको स्वतन्त्रता दिवस (जुलाई ४) मा शुक्रबार ठूलो र भव्य समारोहमा यो विधेयकमा हस्ताक्षर गर्ने बताएकी छन् ।
यो विधेयक अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा दुई दिन अघि मात्र ५०-५० मत भएपछि उपराष्ट्रपति जेडी भान्सले निर्णायक मत दिएर पारित भएको थियो ।
मस्कले यस बिलका बारेमा कडा प्रतिक्रिया दिदै आएका छन् । उनले ट्रम्पको यो विधेयकले अमेरिकामा लाखौं रोजगारी समाप्त गर्ने र देशलाई ठूलो रणनीतिक क्षति पुर्याउने बताउदै आएका छन् ।
FACEBOOK COMMENTS