काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरणसम्बन्धी विधेयक–२०८१ लाई ढिलाइ नगरी यथाशीघ्र अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले विधेयक सरकारले मात्र होइन, सम्बन्धित समिति, सरोकारवाला निकाय तथा विज्ञहरूको सुझावका आधारमा अघि बढ्ने स्पष्ट पारे ।
उनले भने ‘प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायको रूपमा छुट्टाछुट्टै संरचना आवश्यक छ । आईकाओ लगायतका अन्तर्राष्ट्रिय निकायको सिफारिस र नेपालको आवश्यकताका आधारमा विधेयक ल्याइएको हो ।’
उनले नेपालमा हवाई सुरक्षासम्बन्धी चुनौती कायमै रहेको उल्लेख गर्दै विधेयक विभाजनको विषयमा कुनै अन्योल नरहेको प्रस्ट पारे ।
मन्त्री पाण्डेले विधेयक तयार पार्ने क्रममा सरोकारवाला निकाय र विज्ञहरूसँग पटक–पटक छलफल र परामर्श गरिएको जानकारी दिए । उनले नियामक र सेवाप्रदायक निकाय छुट्टिएर स्वायत्त रूपमा सञ्चालनमा आए मात्र हवाई सुरक्षामा सुधार आउने विश्वास व्यक्त गरे ।
उक्त विधेयकमाथि प्रतिनिधिसभाका ७५ जना सांसदहरूले सक्रिय रूपमा भाग लिएर छलफल भइसकेको र अब संशोधनमाथि गहन छलफल गरेर निष्कर्षमा पुगिने विश्वास उनले व्यक्त गरे ।
यसैबीच, समितिका सभापति राजकिशोर यादवले विधेयक महत्त्वपूर्ण प्रकृतिको भएको उल्लेख गर्दै सांसदहरूलाई गम्भीरतापूर्वक छलफलमा सहभागी भई मार्गप्रशस्त गर्न आग्रह गरे ।
FACEBOOK COMMENTS