आज वि.सं. २०८२ असार २३ गते सोमबार ई.सं. २०२५ जुलाई ०७ नेपाल सम्वत् ११४५ दिल्लाथ्व द्वादशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार शुक्ल द्वादशी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, शुभ योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ५ बजेर १४ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ७ बजेर ४ मिनेटमा हुनेछ ।
आज जन्म लिने बच्चा वृश्चिक राशिको हुनेछ । आज कुनै महत्त्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्रा गरे पनि शुभ फल प्राप्त हुनेछ । ठाउँअनुसार समय, तिथि, नक्षत्र, इत्यादिमा पनि अन्तर हुने छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो जीवनको त्यस्तो चरण हो, जसमा कार्यक्षेत्र र पारिवारिक समस्यालाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ । दूरदराजको यात्रा वा वैदेशिक प्रयोजनको कामका लागि प्रयास गर्न अनुकूल समय रहेको छ । मन हलुका र शरीर स्वस्थ भएको राम्रो दिन छ, तर नियमित काम छाडेर घरपरिवार र आत्मीयजनहरूसँग दिन बिताउन सक्नुहुन्छ । लवलाइफ र रोमान्टिक जीवनमा केही असहजता वा बाधा आइलाग्ने समय हो, तथापि घरपरिवार र सँगीसाथीको साथ पाउनाले मन प्रसन्न रहने छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारिवारिक सुखको पूर्ण अनुभूति हुने दिन हो । तपाईंको इच्छाको कदर हुने समय छ । हरेक क्रियाकलापमा जीवनसाथी, सन्तान र मित्रवर्गको साथ/सहयोग प्राप्त हुनेछ । सार्वजनिक क्षेत्र, सेवामूलक काम, ढुवानी र निर्माण सामाग्रीका कारोबारीले राम्रो गर्नसक्ने दिन हो, तर सामाजिक काम वा सँगीसाथीका कारण केही बाधा हुनसक्छ । साथीभाइ र इष्टमित्रसँग हाँसखेल र कुराकानी गर्ने दिन हो । रामरमाइलोमा दिन बित्नेछ । कुनै सामाजिक वा परोपकारी काममा दिलचस्पी जाग्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेत र बुद्धिकौशलको प्रयोग गरी आज सँगीसाथीका बीचमा विद्वान् र चङ्ख साबित हुने दिन हो, गुरुजनबाट स्याबासी पाउन सक्नुहुन्छ । अचानक कुनै मित्रसँग भेटघाट हुने अथवा कुनै नयाँ अवसरको उपयोग गर्ने दिन हो, प्रभावशाली कुराकानीका माध्यमबाट तपाईंले आफ्नो अन्तर्वार्ता, प्रजेन्टेसन, र बैठकहरूमा अरुमाथि राम्रो छाप छोड्न सक्नुहुन्छ । मुखका माध्यमले नै महत्त्वपूर्ण काम बन्नसक्ने राम्रो समय छ, सिनियर कर्मचारी वा वरिष्ठ कर्मचारीलाई खुसी पारेर आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घुमघाममा जाने वा मस्ती गर्ने योजना बनाउन सक्नुहुन्छ । तर जिद र हठलाई त्याग्नु होला, नत्र ससाना कुरामा विवाद हुनसक्छ । गम्भीर स्वभावको उदय हुने समय छ । एक्लै बस्न र रमाउन मनपर्छ । पारिवारिक जीवन सुखद हुनेछैन । आशावादी हुनु निराशावादी हुनुभन्दा राम्रो हुन्छ । आफूस्वयं पनि राम्ररी खट्ने तथा सहयोगीको समेत सक्रियता बढ्नाले आम्दानीको नयाँ स्रोत पहिल्याउने दिन हो, नयाँ लगानीप्रति आकर्षण देखाउँदा राम्रो हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यस्तता र दौडधूपमा समय बित्नेछ, उता व्ययभार बढ्ने दिन भएकाले तालसाँचो र राखनधरनमा पनि सावधानी र सतर्कता अपनाउने समय हो । पठनपाठनमा ध्यान केन्द्रित हुँदैन, चित्तमा शान्ति होस् र मन स्थिर होस् भन्ने उद्देश्यले मेडिटेसन, योग र ध्यानतर्फ आकर्षित हुनुपर्छ । खर्चको मात्रामा अचानक बृद्धि हुनसक्छ, अझ नजिकैको आफन्त वा मनमिल्ने साथीसँगको साझेदारीमा कुनै कारोबार गर्नुछ भने आज सावधानीपूर्वक कदम चाल्नु आवश्यक देखिन्छ, अन्यथा आर्थिक क्षति हुने दिन हो ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता छ भने प्रतियोगी बलिया छन् भन्ने बुझी अझ धेरै मिहिनेत र प्रयास गर्नुपर्ने दिन हो । नयाँ योजना कार्यान्वयन गर्ने दिन हो, दीर्घ प्रयोजनको लाभमूलक काम अघि सार्ने हो भने योजना बनाउने, साझेदार र मतियारका बीचमा छलफल गर्ने र प्रशासनिक तौरतरिका बुझ्ने समय आएको छ । बुद्धिको उपयोग गर्नाले लक्ष्य प्राप्ति हुने समय हो । विवेक र सुझबुझको प्रयोग गरेमा रोकिएको कामले निकास पाउन सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक वातावरण राम्रै छ, रोकिएको धनमाल वा पारिश्रमिक प्राप्त हुनेछ, आज अरुलाई सम्मान गर्ने तथा आफूले पनि प्रतिष्ठा पाउने दिन हो । आफ्नो काममा तन्मय भएर थप लाभ उठाउने समय हो । लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । सुखशान्ति र आनन्दकै वातावरण रहेको छ, आज व्यवहार गर्दा कर्तव्य र मर्यादाप्रति सचेत रहनुपर्ने समय हो, नत्र कताकता मनमुटाव सिर्जना हुनसक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भाग्यले साथ दिने समय हो, आफ्नो प्रभावलाई अझ बलियो बनाउन आफ्ना प्रियजन र सहकर्मीहरूलाई प्रोत्साहन गर्नुपर्छ, किनकि विश्वास संसारको सबैभन्दा सुन्दर बिरुवा हो, जुन जमिनमा होइन मुटुमा उम्रन्छ । क्षमता प्रदर्शन गरी अरुमाथि छाप छोड्ने समय हो । कार्य सम्पादनका माध्यमबाट सिनियरलाई समेत आकर्षित तुल्याउन सकिने छ । मन हलुका र चङ्गा हुने दिन हो, आज लवमेटका तर्फबाट कुनै सुन्दर उपहार प्राप्त हुनेछ, जुन तपाईंको प्रेमसम्बन्धको दीगो प्रतीक बन्नसक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बुद्धि र विवेकको प्रयोग गर्न नसक्दा जुनसुकै काममा झमेला आउनसक्छ, अवगाल र अपजस पाउने दिन भएकाले हरेक काममा सिनियरको मद्दत लिएको जाती हुन्छ । चित्त व्याकुल हुनुका साथै गुनासो र गनगन बढ्ने दिन हो, तेस्रो व्यक्तिको प्रवेशले आपसी सम्बन्धमा समेत कमजोरी देखा पर्नसक्छ । मनमा अनावश्यक शङ्का र भ्रमको निवास हुने तथा कलहको योग बनेको समय छ, आफैंभित्रका शत्रुलाई चिनेर व्यवहार गर्नु राम्रो हुन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कामधन्दाबाट हिजोअस्ति झैं नै फल प्राप्त हुनेछ, तर पारिवारिक आवश्यकताले काम छाड्नुपर्ने वा कतै यात्रामा जानुपर्ने परिस्थिति बन्नेछ । प्रयास गरेमा मन पिरोल्ने समस्यालाई हल गरी मनको बोझ कम गर्न सकिन्छ । जीवनसाथीले पनि मनको कुरो बुझिदिंदा सन्तुष्टि मिल्नेछ । रमणीयता र भावुकतामा भुलिने हुँदा कुनै महत्त्वपूर्ण पाठमा कमजोरी र कसर देखिने डर छ, त्यसैले लक्ष्य प्राप्त गर्न कडा मिहिनेत गर्नुपर्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ऊर्जा, ग्यास, इलेक्ट्रिक, खेलकुद र धातुजन्य पेसामा आबद्ध कारोबारीका लागि राम्रै दिन रहनेछ, तर पनि मस्तिष्कलाई आराम हुने समय छैन । मनमा लुकेका भ्रम र चिन्ता बाहिरिने समय हो, अनावश्यक चिन्तामा रुमल्लिने हुँदा अपेक्षा गरेअनुरूप समयमा काम सिध्याउन मुस्किल पर्ला । जिद्दीपन र घमण्ड बढ्नेछ, गर्नुपर्ने काम वा जिम्मेबारीप्रति कुनै लगाव देखिंदैन, तर परीक्षामा खरो उत्रन अझ धेरै मिहिनेत गर्ने समय हो ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
थोरै मिहिनेत गर्दासमेत ठूलो सफलता पाउने समय हो, ज्ञान बढाउने प्रयास गर्नुहोस्, तारिफयोग्य काम गर्दै भविष्य सुधार्ने मौका पाइने छ । इच्छा पूरा हुने दिन हो, लवमेटसित भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ, त्यस्तै अपेक्षित माया, सहयोग एवं समझदारी कायम हुनेछ । पठनपाठनमा ध्यानकेन्द्रित नहुन सक्छ । परिस्थिति र वातावरण विपक्षमा रहनाले बौद्धिक क्षमता हुँदाहुँदै पनि चाहेको उपलब्धि प्राप्त गर्न सकिंदैन ।
FACEBOOK COMMENTS