काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे युनेस्कोको वर्ल्ड हेरिटेज कमिटीको बैठकमा सहभागी हुन सोमबार फ्रान्स प्रस्थान गरेका छन् ।
पेरिसमा आयोजना हुने उक्त बैठकमा मन्त्री पाण्डेले कपिलवस्तुको ऐतिहासिक स्थल तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
मन्त्री पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव हरिप्रसाद मैनालीसहित उच्च अधिकारीहरूले बिदाइ गरेका छन् ।
मन्त्रालयका अनुसार यो भ्रमण तिलौराकोटलाई अन्तर्राष्ट्रियस्तरमा मान्यता दिलाउने दिशातर्फको कोसेढुङ्गा साबित हुनेछ । तिलौराकोटको ऐतिहासिक र पुरातात्त्विक महत्त्वका कारण स्थानीय स्तरमा लामो समयदेखि यसलाई विश्व सम्पदा सूचीमा राख्न माग हुँदै आएको छ । सोहीअनुरूप मन्त्रालयले त्यसको स्वामित्व लिएर आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता प्रकट गर्दै आएको छ ।
हाल युनेस्कोको वर्ल्ड हेरिटेज कमिटीमा २१ सदस्य राष्ट्र छन्, जसमा एसियाबाट भारत, कतार, जापान र कोरियाजस्ता देशहरू प्रतिनिधित्व गर्छन् । कमिटीमा बहुमतको आधारमा निर्णय हुने व्यवस्था छ ।
FACEBOOK COMMENTS