काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल–चीन सिमानामा रहेको प्रमुख नाका रसुवागढीको टिमुरे क्षेत्र भएर हिजो मङ्गलबार आएको भीषण बाढीले ठूलो मानवीय र भौतिक क्षति भएको भन्दै दुःख व्यक्त गरेको छ ।
बाढीले नेपाल–चीन सिमानाको मैत्री पुल पूर्ण रूपमा बगाएको र रसुवागढी नाकाबाट चीनसँग हुने व्यापारको मुख्य नाका बन्द हुँदा व्यवसायीहरू मर्कामा परेको चेम्बरले उल्लेख गरेको छ ।
मालसामान लिएर नेपालतर्फ आउँदै गरेका सयौं कन्टेनर बाढीले बगाउँदा व्यापार तथा व्यवसायमा गम्भीर क्षति भएको चेम्बरद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘गत मङ्गलबार आएको बाढीले मानवीय क्षतिसँगै भौतिक रूपमा पनि ठूलो क्षति गरेको छ । सो क्षेत्रमा हराइरहेकाहरूको खोजीका साथै भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिएर महत्त्वपूर्ण व्यापारिक मार्ग तत्काल सुचारू गर्न सरकारसँग आग्रह गर्दछौं ।’
रसुवागढीको टिमुरे क्षेत्रमा तत्कालीन राहत व्यवस्थासँगै दीर्घकालीन संरचना निर्माण, वैकल्पिक पुल निर्माण तथा प्राविधिक पूर्वतयारी गर्न समेत चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ ।
चीनसँगको महत्त्वपूर्ण व्यापारिक नाका बन्द हुँदा आयात–निर्यातमा ठूलो असर पर्न सक्ने भन्दै चेम्बरले यस्ता जोखिमपूर्ण अवस्थाको दीर्घकालीन समाधानका लागि स्थायी संरचना र वैकल्पिक नाका व्यवस्थापनमा नीतिगत निर्णय गर्न सरकारलाई आग्रह गरेको छ ।
FACEBOOK COMMENTS